न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको उच्चस्तरीय भेटघाट तीव्र

न्युयोर्क — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका उच्च अधिकारीसँग भेटवार्ता थालेका छन्। सोमबार भएका भेटमा नेपाल–भुटान, नेपाल–जापान र नेपाल–पोल्यान्ड सम्बन्धका साथै जलवायु परिवर्तन, विपद् व्यवस्थापन र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको छ।

खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, जापानी विदेशमन्त्री तोशिमित्सु मोटेगी तथा पोल्यान्डका उपप्रधानमन्त्री एवं विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीसँग छुट्टाछुट्टै भेट गरेका हुन्। उनले युरोपेली आयोगकी प्रथम उपाध्यक्षसँग पनि छलफल गरेका छन्।

भुटानी प्रधानमन्त्री तोब्गेसँगको भेटमा नेपाल र भुटानबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको थियो। दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र प्राकृतिक विपद्का विषयमा सहकार्य बढाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए। तोब्गेले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणप्रति ऐक्यबद्धता जनाएका छन्।

जापानबाट राहतदेखि दीर्घकालीन सहयोगसम्म

जापानी विदेशमन्त्री मोटेगीसँगको भेटमा नेपालमा हालै भएको विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल भएको थियो। मोटेगीले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना दिएका थिए।

जापानले नेपाललाई तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सहयोगअन्तर्गत आपत्कालीन राहत सामग्री, विभिन्न अन्तर्राष्ट्रिय तथा अन्य संस्थामार्फत ३० लाख अमेरिकी डलर बराबरको अनुदान, विज्ञ टोली र डीएनए परीक्षण उपकरण उपलब्ध गराउने योजना रहेको बताइएको छ।

खनालले जापान सरकार र जनताले व्यक्त गरेको समवेदना तथा सहयोगका लागि धन्यवाद दिएका थिए। उनले सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारमा नेपालका सम्बन्धित निकायले निरन्तर काम गरिरहेको जानकारी गराएका थिए।

यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको उल्लेख गर्दै मोटेगीले नेपालको लोकतन्त्र, पूर्वाधार तथा राष्ट्र निर्माणमा जापानले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताएका थिए। नागढुंगा सुरुङलगायत पूर्वाधार परियोजनामा पनि सहयोग जारी रहने उनको भनाइ थियो।

पोल्यान्डसँग बहुपक्षीय सहकार्यमा जोड

खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीसँग पनि भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघसहित अन्य बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षले जोड दिएका थिए। पोल्यान्डको वक्तव्यअनुसार सिकोर्स्कीले रुसी सेनामा नेपाली नागरिकको प्रयोग गरिएको विषयमा आपत्ति जनाएका थिए।

६ आश्विन २०८३, मंगलवार ०८:०९