स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा सुनकोशी गाउँपालिका जिल्लामै पहिलो

सिन्धुपाल्चोक — जिल्लास्तरीय स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यसम्पादन मूल्यांकनमा सुनकोशी गाउँपालिका पहिलो बनेको छ। आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा भएका सेवा तथा कार्यक्रमको प्रगति र विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा सुनकोशीले पहिलो स्थान हासिल गरेको हो।

मूल्यांकनमा पाँचपोखरी थाङपाल गाउँपालिका दोस्रो र त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भएका छन्। हेलम्बु गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापनका क्रममा उत्कृष्ट पालिकाको घोषणा गरिएको हो। स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन तथा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न सूचकमा भएको उपलब्धिलाई मूल्यांकनको आधार बनाइएको जनाइएको छ।

जनस्वास्थ्य कार्यालयका तथ्यांक सहायक अस्मिता श्रेष्ठका अनुसार पालिकाहरूले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम र सूचकमा हासिल गरेको प्रगतिका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको हो।

स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित सेवा प्रवाह, तथ्यांक व्यवस्थापनलगायत पक्षलाई समेत मूल्यांकनमा समेटिएको थियो।

उत्कृष्ट पालिकालाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी श्रीकृष्णप्रसाद शर्मा, समन्वय अधिकारी राजेन्द्र अर्याल, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विवेक भण्डारी, जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईं तथा स्वास्थ्य निर्देशनालय बागमतीका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेललगायतले सम्मान गरेका थिए।

जनस्वास्थ्य अधिकृत निसान सापकोटाका अनुसार यस्तो मूल्यांकनले स्थानीय तहमा स्वास्थ्य सेवा सुधारका लागि सकारात्मक प्रतिस्पर्धाको वातावरण बनाउन तथा आगामी दिनमा कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

१६ आश्विन २०८३, शुक्रबार १५:५१