चित्लाङमा कारको डिकीबाट ६ किलोभन्दा बढी चरेस बरामद, दुई जना प्रहरी नियन्त्रणमा

मकवानपुर, ३० कात्तिक। मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा कारभित्र लुकाएर ल्याइएको ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थ प्रहरीले बरामद गरेको छ। घटनामा कार चालकसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार आइतबार राति करिब १ः४५ बजे हेटौँडाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको कार जाँच गर्ने क्रममा लागुऔषध फेला परेको हो।

कारको पछाडिको डिकीमा राखिएको सामानभित्र लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा बेरेका पाँचवटा पोका भेटिएका थिए। ती पोकामा चरेसजस्तो देखिने पदार्थ रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कार चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ की २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्। श्रेष्ठ हाल बनेपा नगरपालिका–८ तीनदोबाटो र काफ्ले भरतपुर–२ क्षेत्रपुरमा बस्दै आएका थिए।

प्रहरीले बरामद पदार्थ र कारसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

१ मंसिर २०८३, सोमबार १२:०६