स्थानीय निर्वाचनको रणनीति बनाउन एमालेको राष्ट्रिय भेला, ३ हजार ५१४ जना सहभागी हुने

काठमाडौं, ३० कात्तिक। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। भेलामा पार्टीका केन्द्रीय नेतादेखि स्थानीय तहका पदाधिकारी र जनप्रतिनिधिसम्म गरी ३ हजार ५१४ जना सहभागी हुने एमालेले जनाएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाको तयारीबारे जानकारी दिएका हुन्। उनका अनुसार पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै कार्यक्रममा सहभागी गराउन लागिएको हो।

एमालेले भेलालाई आगामी निर्वाचनको तयारीसँगै पार्टीभित्र वैचारिक स्पष्टता र संगठनात्मक एकता कायम गर्ने अवसरका रूपमा लिएको छ। पार्टीका निर्णय तथा राजनीतिक धारणामा एकरूपता ल्याउने, संगठनलाई थप व्यवस्थित बनाउने र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्य पनि भेलाले राखेको आचार्यले बताए।

मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम छ। ओलीले समसामयिक राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको आगामी कार्यदिशा, दुई प्रमुख कार्यभार र कार्यान्वयन गर्नुपर्ने १५ वटा कामबारे सम्बोधन गर्नेछन्।

भेलामा पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषयमा धारणा राख्ने कार्यक्रम छ। उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण र स्थानीय निर्वाचनको कार्ययोजनाबारे आफ्नो प्रस्तुति राख्नेछन्।

भेलामा केन्द्रीय तथा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला र पालिका कमिटीका प्रतिनिधि, संघीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख, जनसंगठन र प्रवासी नेपाली मञ्चका प्रतिनिधिहरू सहभागी हुनेछन्। सहभागीबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिने पार्टीले जनाएको छ।

कार्यक्रम व्यवस्थापन, सुरक्षा र स्वास्थ्य सेवाका लागि आवश्यक तयारी गरिएको आचार्यले जानकारी दिए। भेलास्थलमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिनेछ भने सुरक्षाका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ। सहभागीको आवास र यातायात व्यवस्थापनमा सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने एमालेले जनाएको छ।

बन्दसत्रका गतिविधिबारे सञ्चारमाध्यमलाई पार्टीको प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत जानकारी गराउने व्यवस्था मिलाइएको छ।

१ मंसिर २०८३, सोमबार १५:४५