काठमाडौं, २९ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी ब्याटिङ गर्दै काठमाडौं गोर्खाजसामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२४ रन जोड्यो। यो एनपीएल इतिहासकै अहिलेसम्मको उच्च स्कोर हो। यसअघि गत सिजन विराटनगरले पोखराविरुद्ध नै २२० रन बनाएको थियो।
पोखराको विशाल योगफल तयार पार्न कुशल भुर्तेल र युवराज सम्राले महत्वपूर्ण योगदान दिए। दोस्रो विकेटका लागि यी दुई ब्याटरले १८६ रनको साझेदारी गर्दै काठमाडौंका बलरमाथि दबाब सिर्जना गरे।
कुशल शतक नजिक पुगेर आउट भए। उनले ५१ बलमा आठ चौका र आठ छक्कासहित ९९ रन बनाए। त्यस्तै, युवराजले ५५ बलको सामना गर्दै आठ चौका र पाँच छक्काको मद्दतमा ८९ रन जोडे। दुवै ब्याटर १९औँ ओभरमा करण केसीको बलमा आउट भएका थिए।
कप्तान चमिका करुणारत्नेले अन्तिमतिर आक्रामक खेल देखाउँदै सात बलमा १९ रन बनाएर अविजित रहे। धनञ्जय लक्षान दुई रनमा नटआउट रहे। काठमाडौंका करण केसीले दुई तथा जहान्दाद खानले एक विकेट लिए।
यस खेलसँगै पोखराको लिग यात्रा समाप्त हुँदैछ। यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको पोखरा अन्तिम खेल जितेर प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ।
अर्कोतर्फ काठमाडौंका लागि भने यो खेल निर्णायक बनेको छ। प्लेअफमा क्वालिफायरको स्थान सुरक्षित गर्न काठमाडौंले जित निकाल्नुपर्ने दबाब छ। २२५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको काठमाडौंका लागि जितसँगै रनरेट पनि महत्त्वपूर्ण हुनेछ।
३० कार्तिक २०८३, आईतवार २०:२१