मुगु, २९ कात्तिक। रारा घुम्न जाँदै गरेको जिप मुगुमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकमा जिप दुर्घटनामा परेको हो। सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप अनियन्त्रित भई सडकबाट करिब ६ सय फिट तल खसेको थियो।
दुर्घटनामा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ललितपुरकी ५४ वर्षीया अञ्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन्। घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविराज थपलियाले जानकारी दिए।
प्रहरीका अनुसार जिप ललितपुर महानगरपालिका–१५ निवासी कञ्चन थापाले चलाएका थिए। दुर्घटनापछि उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
३० कार्तिक २०८३, आईतवार २०:१६