स्थानीय तहको चुनाव लक्षित गर्दै रास्वपाले सुरु गर्‍यो संगठन विस्तार र उम्मेदवार छनोटको तयारी

काठमाडौं — स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठनात्मक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले उम्मेदवार छनोटदेखि जनतासँग प्रत्यक्ष संवादसम्मका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।

शनिबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। समितिमा सात सदस्य मनोनयन गरिएका छन् भने सबै प्रदेशका पार्टी सभापतिलाई पदेन सदस्य राख्ने निर्णय भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

समितिमा मिलन लिम्बू, रहवर अन्सारी, तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी मनोनयन भएका छन्।

७७ जिल्लाका पालिकामा पुग्ने अभियान

स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर रास्वपाले ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। असोज २० देखि २७ गतेसम्म पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई देशभर परिचालन गरिनेछ।

उक्त अवधिमा उनीहरूले ७७ जिल्लाका ७५३ स्थानीय तहमा पुगेर स्थानीय जनता, पार्टीका सदस्य तथा विभिन्न सरोकारवालासँग छलफल गर्ने र सुझाव संकलन गर्नेछन्।

केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्य र सांसदलाई अभियानमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको प्रवक्ता खरेलले बताए।

विभिन्न विभागमा नेतृत्व तोकियो

बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख तथा सदस्यसमेत चयन गरेको छ। प्रवास सम्पर्क विभागमा मनीष झा, आर्थिक व्यवस्थापनमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालनमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैंगिक समानता तथा समावेशितामा रुविना आचार्यलाई प्रमुख बनाइएको छ।

त्यस्तै, सुशासन तथा राज्य व्यवस्था विभागको जिम्मेवारी सुदीप ढकाल, विधायन तथा संसदीय मामिला विभागमा सुलभ खरेल, कृषि तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह र आपूर्ति तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाललाई दिइएको छ।

विज्ञान तथा सूचना प्रविधि विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी, वातावरण तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा प्रमुख तोकिएका छन्।

मधेशको संगठनबारे सचिवालयले निर्णय गर्ने

मधेश प्रदेशमा पार्टीको संगठनसम्बन्धी समस्या अध्ययन गर्न सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा बनेको कार्यदलले प्रतिवेदन बुझाएको छ। प्रतिवेदन अध्ययन गरेपछि पार्टी सचिवालयले आवश्यक निर्णय लिने प्रवक्ता खरेलले जानकारी दिए।

नयाँ पार्टी कार्यालयका लागि जग्गा वा घर खोजिने

रास्वपाले केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकामा नयाँ स्थान खोज्ने भएको छ। पार्टी कार्यालयका लागि जग्गा वा घर खरिद गर्ने तयारीअनुसार उपयुक्त स्थान पहिचान गर्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई सहयोग गर्न आग्रह गरिएको छ।

जनतासँगको सम्बन्ध बलियो बनाउन नेतृत्वलाई निर्देशन

बैठकमा पार्टी सभापति रवि लामिछानेले नेता, सांसद तथा मन्त्रीहरूलाई जनतासँगको सम्बन्ध थप मजबुत बनाउन निर्देशन दिएको प्रवक्ता खरेलले बताए।

लामिछानेले सर्वसाधारणबाट आउने गुनासा, सुझाव तथा मागलाई प्राथमिकताका साथ सुन्न र सम्बन्धित निकायमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। पहुँच भएका व्यक्तिमात्र नभई सामान्य नागरिकलाई पनि सहज रूपमा भेट्ने वातावरण बनाउन उनले मन्त्री तथा पार्टीका नेताहरूलाई निर्देशन दिएको बताइएको छ।

बैठकमा लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो निरन्तर संवाद भइरहेको उल्लेख गर्दै सरकारका काममा पार्टीको सहयोग रहने बताएका थिए। सरकारका कामको परिणाम देखिन अझ केही समय लाग्न सक्ने भन्दै उनले सरकारलाई सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको प्रवक्ता खरेलले जानकारी दिए।

१८ आश्विन २०८३, आईतवार ११:५९