न्यायाधीशबीच इजलास गठनको विवाद लम्बिँदा २४६ मुद्दा सुनुवाइको प्रतीक्षामा

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास गठन गर्ने प्रक्रियामा प्रधानन्यायाधीश र अन्य न्यायाधीशबीच सहमति जुट्न नसक्दा डेढ महिनादेखि इजलास अवरुद्ध भएको छ। यसको प्रत्यक्ष असर संविधानको व्याख्या र राज्य सञ्चालनसँग जोडिएका २४६ वटा मुद्दामा परेको छ।

संवैधानिक इजलास गठन हुन नसक्दा आठ वर्षअघिदेखिका रिटसमेत विचाराधीन छन्। करिब ३० वटा मुद्दामा अहिलेसम्म पहिलो सुनुवाइसमेत हुन सकेको छैन।

प्रधानन्यायाधीश मनोजकुमार शर्माले पछिल्लो पटक असोज २१ मा संवैधानिक इजलास गठन गरेका थिए। तर न्यायाधीश हरिप्रसाद फुयालले इजलासमा बस्न नसक्ने बताएपछि सुनुवाइ स्थगित भयो। त्यसयता नयाँ इजलास गठन हुन सकेको छैन।

संवैधानिक इजलासमा हाल प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा रिट विचाराधीन छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएर प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसअनुसार संसद् विघटन गरेपछि निर्णय असंवैधानिक भएको दाबीसहित रिट दर्ता भएका थिए।

ती सबै रिटलाई एकै ठाउँमा राखेर १२ कात्तिक २०८२ मा तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो। सम्बन्धित पक्षले लिखित जवाफ बुझाइसके पनि त्यसपछि पटक–पटक पेसी तोकिँदा सुनुवाइ हुन सकेको छैन। पछिल्लो पटक आगामी पुस २२ का लागि पेसी तोकिएको छ।

प्रधानन्यायाधीश शर्मा पदमा आएपछि हरेक बुधबार संवैधानिक इजलास गठन गर्ने अभ्यास सुरु भएको थियो। यसअघि सातामा बुधबार र शुक्रबार इजलास बस्ने गरेको थियो। तर इजलासमा कुन न्यायाधीशलाई कसरी सहभागी गराउने भन्ने विषयमा मतभेद देखिएपछि प्रक्रिया रोकिएको हो।

संवैधानिक इजलासको रोस्टरमा प्रधानन्यायाधीश शर्मासहित १० न्यायाधीश छन्। पाँच सदस्यीय इजलासमा प्रधानन्यायाधीशको नेतृत्वमा अन्य चार न्यायाधीश रहने व्यवस्था छ। ती चार जनाको छनोट कसरी गर्ने भन्नेमा न्यायाधीशहरूबीच फरक धारणा छन्।

प्रधानन्यायाधीश शर्मा संविधानले दिएको अधिकारअनुसार न्यायाधीश आफैंले तोक्नुपर्ने पक्षमा छन्। केही न्यायाधीशले वरिष्ठताका आधारमा इजलास गठन गर्नुपर्ने धारणा राखेका छन् भने बहुमत न्यायाधीशले गोलाप्रक्रिया अपनाउनुपर्ने मत राखेका छन्। संविधानले प्रधानन्यायाधीशलाई न्यायाधीश तोक्ने अधिकार दिएको अवस्थामा त्यसलाई सीमित गर्ने निर्णय पूर्ण इजलासबाट गर्न नमिल्ने तर्क पनि उठेको छ।

पूर्वन्यायाधीश ईश्वर खतिवडाले विवाद समाधानका लागि रोस्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा इजलास गठन गर्नु उपयुक्त हुने बताएका छन्। उनका अनुसार संवैधानिक इजलास गठनको विषयमा यसअघि पनि विवाद हुँदै आएको थियो। तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकालमा पनि यस्तै समस्या देखिएपछि वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने सहमतिपछि इजलास सञ्चालनमा आएको थियो।

खतिवडाले अहिलेको अवरोधको निकास निकाल्ने जिम्मेवारी पनि प्रधानन्यायाधीशकै भएको बताएका छन्। उनका अनुसार इजलास गठनसम्बन्धी विवादका कारण मुद्दाको सुनुवाइ रोकिरहनु उचित हुँदैन।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले पनि वरिष्ठता वा गोलाप्रक्रियामध्ये कुनै एउटा विधि अपनाएर तत्काल समस्या समाधान गर्नुपर्ने बताएका छन्। उनले प्रधानन्यायाधीशलाई गोलाप्रक्रियाबाट न्यायाधीश छनोट गर्ने निर्णय लिन आग्रह गरेका छन्।

प्रधानन्यायाधीश शर्माले भने संविधानको व्यवस्थाभित्रै रहेर विवाद समाधान गर्ने प्रयास भइरहेको बताएका छन्। संविधानले आफूलाई इजलास गठन गर्ने अधिकार दिएको उल्लेख गर्दै उनले सबै पक्षसँग संवाद भइरहेको बताएका छन्।

संवैधानिक इजलास गठन हुन नसक्नुमा पछिल्लो समय उठेका केही विवादले पनि भूमिका खेलेको छ। सम्पत्ति छानबिन आयोगविरुद्धको मुद्दा पूर्ण इजलासमा पुगिसकेपछि संवैधानिक इजलासमा सारिएको विषय र कर्मचारी ट्रेड युनियनसम्बन्धी मुद्दामा न्यायाधीश छनोटको प्रक्रियामाथि प्रश्न उठेको थियो।

संविधानको धारा १३७ मा संवैधानिक इजलासको व्यवस्था छ। संविधानको व्याख्या तथा राज्य सञ्चालनसँग सम्बन्धित गम्भीर विवाद निरूपण गर्न सर्वोच्च अदालतभित्र यस्तो विशेष इजलास गठन गरिएको हो। कुनै रिट दर्ता गर्दा नै संवैधानिक इजलास माग हुन सक्छ, अन्य इजलासको आदेशबाट मुद्दा यहाँ पठाइन सक्छ वा प्रधानन्यायाधीशले आफैं तोक्न सक्छन्।

सर्वोच्च अदालतको तथ्यांकअनुसार संवैधानिक इजलासमा आर्थिक वर्ष २०७५/७६ देखि विचाराधीन २४६ निवेदनमध्ये ३८ वटा पाँच वर्षभन्दा पुराना छन्। सबैभन्दा पुरानो रिट सूर्य नेपाल प्रालिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाएर २०७५ साउन २२ मा दर्ता गरेको हो।

इजलासमा कर, ज्येष्ठ नागरिक, निजामती सेवा, निर्वाचन, बेपत्ता पारिएका व्यक्ति, संक्रमणकालीन न्याय, राजनीतिक दल, शिक्षा ऐन, संसद् पुनःस्थापना, सम्पत्तिको हक र स्थानीय तहबीचका विवादलगायत विषयका मुद्दा छन्। समलिंगी विवाह, सुर्तीजन्य पदार्थको बिक्री–वितरण र स्तनवृद्धि समायोजनसम्बन्धी रिट पनि विचाराधीन छन्।

शिक्षासम्बन्धी मात्रै ३९ वटा रिट संवैधानिक इजलासमा अड्किएका छन्। त्यस्तै, सुशीला कार्की र वालेन्द्र शाह नेतृत्वका सरकारले ल्याएका अध्यादेशविरुद्धका मुद्दासमेत सुनुवाइको प्रतीक्षामा छन्। इजलास गठनको अन्योल कायमै रहे यी मुद्दाको निरूपण अझै ढिलाइ हुने देखिएको छ।

१० मंसिर २०८३, बुधबार ०९:३२