असार १५ मा धान दिवसको अवसरमा मिनी टिलर (हाते ट्र्याक्टर) वितरण


जनतापत्र,सिन्धुपाल्चोक ।
जुगल गाँउपालिकाले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर कृषिमा यान्त्रीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानहरूलाई मिनी टिलर (हाते ट्र्याक्टर) वितरण गरिएको छ।


धान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा कृषकहरूलाई आधुनिक कृषि उपकरण हस्तान्तरण गर्दै खेतीपातीलाई सहज, छरितो र उत्पादनमुखी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। नेपालमा असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै आएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जुगल गाँउपालिकाको अध्यक्ष रेशम स्याङवोले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न स्थानीय सरकारको प्राथमिकता रहेको बताए। खेत जोत्न लाग्ने समय, श्रम र लागत घटाउँदै उत्पादन वृद्धि गर्न मिनी टिलरले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै कृषकलाई कृषि पेशाप्रति थप आकर्षित गर्न यस्ता सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिइयो।


मिनी टिलर प्राप्त गरेका कृषकहरूले आधुनिक कृषि उपकरण प्राप्त भएपछि खेती गर्न सहज हुने, समयको बचत हुने तथा उत्पादन लागत घट्ने विश्वास व्यक्त गरेका छन्। पछिल्ला वर्षहरूमा श्रमिक अभाव र बढ्दो उत्पादन लागतका कारण कृषि क्षेत्रमा यान्त्रीकरणको आवश्यकता झन् बढ्दै गएको छ।
यस प्रकारका कृषि यान्त्रीकरण कार्यक्रमले किसानको श्रम घटाउनुका साथै उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषि क्षेत्रलाई व्यवसायिक तथा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

१६ असार २०८३, मंगलवार ११:४७