स्थानीय चुनावको तयारी अघि बढाउँदै आयोग, ६ दलसँग आज परामर्श

४ मंसिर, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनको मिति र प्रदेशसभा निर्वाचनसमेत एकैपटक गर्न सकिने सम्भावनाबारे निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

आयोगले शुक्रबार बिहान ११ः३० बजेका लागि राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दलका प्रतिनिधिहरूलाई कार्यालयमै उपस्थित हुन आमन्त्रण गरिएको जानकारी दिए।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी हुनेछन्।

आयोगले स्थानीय तहको निर्वाचनसँगै प्रदेशसभाको चुनाव पनि गराउने विषयमा दलहरूको धारणा लिन लागेको हो। यसबारे राजनीतिक दलहरूसँग सुझाव मागिने जनाइएको छ।

२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ। त्यसअघि नै निर्वाचनको आवश्यक तयारी र समय निर्धारणका विषयमा आयोगले परामर्श अघि बढाएको हो।

राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलसँग पनि परामर्श गरिने प्रवक्ता भट्टराईले बताएका छन्। उता, आसन्न स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक दलहरूले समेत आफ्नो गतिविधि विस्तार गर्न थालेका छन्।

५ मंसिर २०८३, शुक्रबार ०९:४३