काठमाडौँ । नेपालले चीनसँगको पुरानो व्यापारिक मार्ग तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा नाका खोल्न विशेष आग्रह गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग भएको भेटमा मन्त्री खनालले तातोपानी नाका सञ्चालनको विषय उठाएका हुन्।
हाल रसुवागढी नाका बाढीका कारण बन्द रहेकाले चीनसँगको व्यापारिक आवागमन प्रभावित भएको छ। त्यसमाथि हिउँदको समयमा अन्य उच्च हिमाली नाकासमेत नियमित रूपमा सञ्चालन गर्न कठिन हुने भएकाले तातोपानी नाका खोल्नु आवश्यक रहेको खनालले बताएका छन्।
काठमाडौँबाट चीन जोड्ने छोटो दूरीको नाकाका रूपमा रहेको तातोपानीको ऐतिहासिक र व्यापारिक महत्त्व रहेको उल्लेख गर्दै उनले दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका लागि यसको पुनः सञ्चालन आवश्यक रहेको धारणा राखेका थिए।
मन्त्री खनालको आग्रहपछि चिनियाँ प्रतिनिधिमण्डलका अध्यक्ष याङले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन्।
भेटवार्तामा नाका सञ्चालनबाहेक नेपाल–चीन व्यापारिक सम्बन्ध, पूर्वाधार विकास, जलवायु परिवर्तन, शिक्षा तथा दुई देशका नागरिकबीचको सम्बन्ध विस्तारका विषयमा पनि छलफल भएको थियो।
तातोपानी नाका सञ्चालनमा आएमा नेपाल र चीनबीचको व्यापारिक गतिविधि सहज हुनुका साथै आयात–निर्यात, ढुवानी र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
३ मंसिर २०८३, बुधबार १४:५७