भैंसे सुमो दुर्घटनामा ज्यान गुमाउने एक महिलाको पहिचान खुल्यो

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा सुमो दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये एक महिलाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिना रहेकी छन्। दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाको भने अझै पहिचान हुन सकेको छैन। आफन्त आएपछि उनीहरूको पहिचान खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान भीमफेदी–१ भैंसेस्थित घुम्तीबाट अनियन्त्रित भई करिब १० मिटर तल भैंसे खोलामा खसेको थियो।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

४ मंसिर २०८३, बिहीबार ११:१७