३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी आठौँ महाधिवेशनबाट ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्ने प्रस्ताव अघि सारेको छ।
पार्टीको हालको विधान संशोधन गरेर ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाटै केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव गरिएको हो।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सातौँ महाधिवेशनबाट निर्वाचित भएपछि ‘नवीन राप्रपा कार्ययोजना’ ल्याएका थिए। उक्त योजनाअन्तर्गत सार्वजनिक सूचना जारी गरी खुला प्रतिस्पर्धाका आधारमा ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा समेटिएको थियो।
आगामी महाधिवेशनमा भने युवालाई विधानमै व्यवस्था गरेर नेतृत्व तहमा पुर्याउने र पार्टीप्रति युवा आकर्षण बढाउने नीति राप्रपाले अघि सारेको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यस विषयमा छलफल भइरहेको र संशोधित विधानमा सोहीअनुसार प्रस्ताव अघि बढाइने जानकारी दिए।
४ मंसिर २०८३, बिहीबार ११:२२