काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

काठमाडौँ । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन्।

श्रेष्ठले आफ्नो अनुभव, ज्ञान र सीपलाई काठमाडौंको विकास तथा रूपान्तरणमा उपयोग गर्ने उद्देश्यले मेयरमा उठ्ने निर्णय गरेको बताएकी छन्। यद्यपि, उनले कुन राजनीतिक दलबाट उम्मेदवारी दिने वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्नेबारे खुलाएकी छैनन्।

उनले फेसबुकमा आफूले हासिल गरेको ज्ञान, सीप र अनुभव काठमाडौंको समृद्धि, सुशासन तथा रूपान्तरणका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

श्रेष्ठले यसअघि गत वैशाख ४ गते रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। उनी रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन् भने २०८० फागुन २३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।

मन्त्री रहँदा उनले शिक्षा क्षेत्रको सुधार, शैक्षिक क्यालेन्डर निर्माण तथा नीतिगत व्यवस्थाका विषयमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। संसद्मा रहँदा पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसम्बन्धी समितिमा उनको सहभागिता रहँदै आएको थियो।

काठमाडौं महानगरपालिका–२६ की स्थायी बासिन्दा श्रेष्ठले उच्च शिक्षा अमेरिकामा हासिल गरेकी हुन्। उनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) को स्लोन स्कुल अफ म्यानेजमेन्टबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेकी छन्। यसअघि ब्रिन मार कलेजबाट अर्थशास्त्र र ह्याभरफोर्ड कलेजबाट गणित विषयमा स्नातक गरेकी थिइन्।

उनको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वका लागि हुने प्रतिस्पर्धामा नयाँ राजनीतिक चासो थपिएको छ।

३ मंसिर २०८३, बुधबार १५:०३