सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि सरकारले उद्धार कार्यलाई प्राथमिकतामा राख्दै टोली परिचालन गरेको छ। उद्धार टोलीले सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाएर भित्र प्रवेश गर्ने बाटो खोल्ने प्रयास गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली घटनास्थलमा निरन्तर खटिएको छ।
तर सुरुङ रहेको क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।
यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन गर्ने तयारी गरेको छ।
हवाई अनुगमनबाट प्राप्त अवस्थाको मूल्यांकन गरेपछि थप उद्धार कार्य अघि बढाइने योजना रहेको जनाइएको छ।
१३ भाद्र २०८३, शनिबार १३:२४