काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि खोजी तथा उद्धार अभियान जारी छ। बाढीका कारण विभिन्न जिल्लामा ठूलो मानवीय क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ५५३ जनाको शव फेला परेको छ।
बाढी प्रभावित विभिन्न जिल्लामा गरिएको खोजीका क्रममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७ जनाको शव भेटिएको छ। यस्तै, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रभावित क्षेत्रमा उद्धारकार्यलाई पनि निरन्तरता दिइएको छ। अहिलेसम्म १ हजार ४७३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीको विवरण छ। उद्धार गरिएकामध्ये रसुवाका ५७२, नुवाकोटका ८९८ र धादिङका तीन जना रहेका छन्।
बाढीका कारण घाइते भएकाहरूलाई उद्धार गरी विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। केही घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। काठमाडौंका अस्पतालमा उपचार गराएका तथा उपचारपछि घर फर्किएका व्यक्तिको संख्या ९७ पुगेको प्रहरीको भनाइ छ।
बाढीपछि उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीसमेत प्रभावित भएका छन्। नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी सम्पर्कविहीन रहेको जनाइएको छ। भन्सार तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन रहेको बताइएको छ।
प्रहरीका अनुसार सर्वसाधारणसहित २ हजार ३८१ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि सुरक्षा निकायका टोली परिचालन गरिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित तथा जोखिमपूर्ण क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेका छन्। बेपत्ताको अवस्था पत्ता लगाउन उद्धार टोलीले नदी किनार, बस्ती तथा अन्य सम्भावित क्षेत्रमा खोजीलाई तीव्र बनाएका छन्।
१३ भाद्र २०८३, शनिबार ०६:१२