विदेशी उद्धार टोलीको सहयोग रोकिएको छैन : परराष्ट्रमन्त्री

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले विपद् व्यवस्थापनका क्रममा विदेशी उद्धार टोलीको सहयोग लिन नेपालले कुनै रोकावट नगरेको बताएका छन्। आवश्यकताअनुसार सम्बन्धित देश तथा अन्तर्राष्ट्रिय निकायसँग सहयोग मागेर उद्धार र राहत कार्य अघि बढाइएको उनको भनाइ छ।

शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रको कठिन भौगोलिक अवस्थालाई ध्यानमा राखेर विदेशी टोली परिचालनसम्बन्धी निर्णय गरिएको बताए।

बाढीले सडक तथा पुलहरूमा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भएको उनले जानकारी दिए। कतिपय स्थानमा हेलिकोप्टरबाहेक अन्य माध्यमबाट उद्धारकर्ता तथा आवश्यक सामग्री पुर्‍याउन सम्भव नभएको उनको भनाइ छ। अग्ला पहाड, साँघुरा खोँच र जोखिमपूर्ण भूगोलका कारण हेलिकोप्टरबाट समेत भारी उपकरण लैजान चुनौती रहेको उनले बताए।

मन्त्री खनालका अनुसार सुरुङभित्र फसेकाहरूको उद्धारका लागि भारतबाट विशेषज्ञ टोली नेपाल आइसकेको छ भने चीनबाट दुईवटा टोली आउने प्रक्रियामा छन्। घटनास्थलको अवस्था र आवश्यकताका आधारमा थप अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी रहेको उनले बताए।

बाढी तथा पहिरोपछि ठूलो संख्यामा शव फेला परेकाले तिनको सुरक्षित व्यवस्थापन अर्को चुनौती बनेको उनले उल्लेख गरे। लामो समयसम्म शव सुरक्षित राख्न आवश्यक शीत भण्डारण क्षमता नेपालमा सीमित भएकाले विदेशी सरकार र अन्तर्राष्ट्रिय संस्थासँग आवश्यक उपकरण उपलब्ध गराउन अनुरोध गरिएको उनले बताए।

शव व्यवस्थापनका विषयमा रेडक्रसलगायत अन्तर्राष्ट्रिय संस्थासँग छलफल भइरहेको भए पनि सहयोग कहिले र कुन रूपमा प्राप्त हुने भन्ने टुंगो लागिनसकेको मन्त्री खनालले जानकारी दिए।

बाढीका कारण धेरै पुल तथा सडक संरचना बगेपछि राहत सामग्री प्रभावित बस्तीमा पुर्‍याउनसमेत समस्या भइरहेको छ। करिब ४० वटा पुलमा क्षति पुगेको र विभिन्न सडकखण्ड अवरुद्ध भएको उनले बताए।

सडक पहुँच नभएका क्षेत्रमा औषधि, खाद्यान्न र अन्य अत्यावश्यक सामग्री पुर्‍याउन ठूला भार बोक्न सक्ने ड्रोन प्रयोग गर्ने विकल्पमा समेत अन्तर्राष्ट्रिय सहयोग खोजिएको मन्त्री खनालले जानकारी दिए।

उनका अनुसार विदेशी सहयोगलाई घटनास्थलको आवश्यकता, भौगोलिक अवस्था र नेपाली सुरक्षा निकायको प्राविधिक सुझावका आधारमा व्यवस्थित रूपमा प्रयोग गर्ने सरकारको नीति छ।

१३ भाद्र २०८३, शनिबार १८:०१