चितवनमा पहिचान नभएका २२९ शवको डीएनए संकलनपछि अन्त्येष्टि गरिने

चितवन । भोटेकोशी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका शवहरू सड्न थालेपछि जिल्ला प्रशासन कार्यालयले डीएनए नमुना संकलन गरी अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

प्रशासनका अनुसार चितवनमा हालसम्म २३३ शव फेला परेका छन्। तीमध्ये चार जनाको मात्रै पहिचान भएको छ भने बाँकी २२९ शव भरतपुरस्थित होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।

पहिचान हुन नसकेका तथा बेवारिसे शवहरू सड्न थालेको र स्वास्थ्यकर्मीको सुझावअनुसार संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम देखिएकाले तत्काल व्यवस्थापन गर्न लागिएको प्रशासनले जनाएको छ।

शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार अन्त्येष्टिअघि सबै शवको डीएनए नमुना संकलन गरिनेछ। प्रत्येक शवलाई संकेत नम्बर दिएर आवश्यक विवरण अभिलेखमा राखिने प्रशासनले जनाएको छ।

त्यसपछि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा शवको सम्मानपूर्वक अन्त्येष्टि गरिनेछ। प्रशासनले शव पहिचान तथा व्यवस्थापनको प्रक्रियामा सहयोग, समन्वय र आवश्यक सूचना आदानप्रदान गरिदिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

१३ भाद्र २०८३, शनिबार ११:५५