आजदेखि गाईजात्रा पर्व सुरु, बसन्तपुरमा चहलपहल

काठमाडौं । दिवंगत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि सुरु भएको छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व देशका विभिन्न स्थानमा विविध कार्यक्रमसहित मनाउन थालिएको हो।

गाईजात्राका अवसरमा एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ। सहभागीहरूले दिवंगत व्यक्तिको तस्बिरसहित बाजागाजा र विभिन्न झाँकी निकालेर जात्रा मनाउने गर्छन्।

धार्मिक मान्यताअनुसार गाईको परिक्रमा गराएमा दिवंगत आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सक्ने विश्वास गरिन्छ। यस अवसरमा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्यान्न तथा द्रव्य दान गर्ने चलन छ।

शनिबार बिहानैदेखि काठमाडौंको बसन्तपुर क्षेत्रमा गाईको पहिरनमा सजिएका मानिस तथा दिवंगत आफन्तका तस्बिरसहित नगर परिक्रमा गर्ने क्रम सुरु भएको छ। गाईजात्राका कारण बसन्तपुर क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ।

१३ भाद्र २०८३, शनिबार १३:३१