जनतापत्र सिन्धुपाल्चोक ।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी जिल्ला तहको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र जिल्लाभित्र रहेका विभिन्न प्रहरी चौकीका इन्चार्जहरूलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा हुने ठगी, मानव बेचबिखन तथा असुरक्षित आप्रवासनका जोखिमबारे जानकारी गराइएको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त म्यानपावर कम्पनी छनोट, श्रमिकका अधिकार तथा समस्या परेमा उजुरी गर्ने निकायबारे सहजीकरण गरिएको थियो। सहभागी प्रहरी अधिकृतहरूले स्थानीय तहमा बढ्दै गएको वैदेशिक रोजगारीसम्बन्धी ठगी नियन्त्रणका लागि समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रममा सुरक्षित आप्रवासन तथा मानव बेचबिखन न्यूनीकरणमा प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

आयोजक संस्थाका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा जोखिम न्यूनीकरण गर्न प्रहरी संयन्त्रलाई थप जिम्मेवार र सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले प्राप्त जानकारीलाई स्थानीय समुदायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
१२ जेष्ठ २०८३, मंगलवार ०६:५५