सुनचाँदीको मूल्यमा फेरि गिरावट, सुन प्रतितोला ३ लाख १ हजार ९ सय

काठमाडौँ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो।

आइतबार ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ। यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको थियो।

यता, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ रहेको चाँदी सोमबार ३५ रुपैयाँ घटेर ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार ४ सय १ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।

यससँगै पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ।

२२ भाद्र २०८३, सोमबार १३:४०