कञ्चनपुर । रसुवाको भोटेकोशीमा आएको बाढीपछि कञ्चनपुरका एउटै परिवारका तीन सदस्य सम्पर्कविहीन भएपछि कृष्णपुर नगरपालिका–३ देखतभुलीका तीन घर शोक र चिन्तामा छन्। बाढी आएको ११ दिन बितिसक्दा पनि उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
देखतभुलीका कालुराम राना, उनका भतिजा रिकेश राना र अर्का भतिजा क्रेसन राना रोजगारीका क्रममा रसुवा पुगेका थिए। उनीहरू एउटै जलविद्युत आयोजनामा काम गर्ने र एउटै कोठामा बस्ने गरेका थिए।
परिवारका अनुसार भदौ १० गते बाढी आउनुअघि तीनै जनाले घरपरिवारसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि भने उनीहरूको मोबाइल सम्पर्कमा आएको छैन।
रिकेशकी श्रीमती सिट्टुका अनुसार श्रीमान्ले बाढी आउनुअघि बिहान फोन गरेर केही समयपछि फेरि कुराकानी गर्ने बताएका थिए। तर त्यसपछि फोन नआएपछि परिवारले लगातार सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकेन।
रिकेश माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा मजदुरका रूपमा कार्यरत थिए। उनी वेल्डिङलगायत आयोजनामा आवश्यक पर्ने विभिन्न काम गर्दै आएका थिए। यसअघि भारतमा मजदुरी गर्दै आएका उनी करिब दुई वर्षअघि रसुवा पुगेका थिए।
यस्तै, कालुरामकी श्रीमती रेखाका लागि श्रीमान्को अनुपस्थितिसँगै घरखर्च र बालबालिकाको भविष्यको चिन्ता थपिएको छ। बिरामी सासु र आफूले घरमै उपचार गराइरहेको बताउँदै उनले परिवारको मुख्य आर्थिक जिम्मेवारी कालुरामकै काँधमा रहेको बताइन्।
कालुरामले बाढी आएको दिन बिहान घरमा फोन गरेका थिए। छोटो कुराकानीपछि फेरि फोन गर्ने बताएका उनी त्यसपछि सम्पर्कविहीन भएका हुन्। उनका श्रीमती, चार वर्षीया छोरी र १० वर्षीय छोरा अहिले उनको खबरको प्रतीक्षामा छन्।
अर्का बेपत्ता क्रेसनकी श्रीमती विपाशाले पनि श्रीमान्को खोजी तीव्र बनाउन सुरक्षाकर्मीलाई आग्रह गरेकी छन्। उनका अनुसार क्रेसन प्रायः एक–दुई दिनको अन्तरमा घरमा फोन गर्ने गर्थे। बाढीअघि उनले तलब बुझेपछि घर फर्किने बताएका थिए। विपाशाकी डेढ वर्षकी छोरी छिन्।
तीनै जनाको खोजीका लागि परिवारका सदस्यहरू आफैं पनि विभिन्न स्थानमा पुगेका छन्। क्रेसनका बुवा नन्दकिशोर र छिमेकी वीरेन्द्रसिंह धानुक नुवाकोट पुगेर सम्भावित स्थानमा खोजी गरेका थिए। कालुरामका दाजु कुबेर राना पनि भाइ र भतिजाको खोजीका लागि बिदामा घर आएका छन्।
यसैबीच, सम्भावित शव पहिचानका लागि प्रहरीले तीनै बेपत्ताका छोराछोरीबाट डीएनए नमुना संकलन गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बोलाएर महाकाली प्रादेशिक अस्पतालमा नमुना लिएको परिवारले जनाएको छ।
तर डीएनए नमुना संकलन भए पनि परिवारले उनीहरू जीवितै भेटिने आशा भने छाडेका छैनन्। खोजी तथा उद्धारको काम जारी रहेकाले कुनै पनि बेला सकारात्मक खबर आउने अपेक्षामा आफन्तहरू मोबाइलको घण्टी कुरेर बसेका छन्।
२१ भाद्र २०८३, आईतवार १७:१३