बाढीबारे जातीय सद्भावमा असर पर्ने अभिव्यक्ति दिएको आरोपमा युवक पक्राउ

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीलाई लिएर सामाजिक सञ्जालमा जातीय सद्भावमा असर पार्ने खालको अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले बैतडीका २५ वर्षीय वीरेन्द्र मडैलाई काठमाडौंमा पक्राउ गरेको हो। ब्युरोका अनुसार बाढीबाट प्रभावित व्यक्तिहरूको जातीय पहिचानलाई जोडेर आपत्तिजनक धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोप उनीमाथि छ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले यस्तो किसिमको अभिव्यक्तिले विपद्बाट पीडित नागरिकको पीडामा थप असर पुग्ने भएकाले नियन्त्रणमा लिइएको बताएका छन्।

उनका अनुसार मडैलाई शनिबार काठमाडौंमै पक्राउ गरिएको हो। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।

उक्त घटनामा कसैबाट औपचारिक उजुरी नपरे पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको सामग्रीका आधारमा साइबर ब्युरोले आफैंले अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। विपद्का बेला सामाजिक सञ्जालमा फैलिने जातीय तथा सामाजिक सद्भाव प्रभावित पार्ने सामग्रीप्रति प्रहरीले निगरानी बढाएको जनाएको छ।

२१ भाद्र २०८३, आईतवार १७:१४