काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण खानेपानीको स्रोत र वितरण प्रणाली प्रभावित भएपछि रसुवामा पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको छ। सम्भावित संक्रमण नियन्त्रणका लागि सरकारले जिल्लामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा उपलब्ध भएको उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्याइएको हो।
बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम कम गर्न स्वास्थ्य मन्त्री निशा मेहताले सम्बन्धित निकायलाई तत्काल आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएकी छन्। उहाँको निर्देशनपछि प्रभावित बस्तीमा खोप तथा औषधि पठाउने, स्वास्थ्यसम्बन्धी निगरानी बढाउने र आवश्यक जनशक्ति परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बाढीले खानेपानीका मुहान र वितरण संरचनामा क्षति पुर्याएकाले दूषित पानीका कारण हैजा तथा अन्य पानीजन्य रोगको संक्रमण फैलिन सक्ने आशंका गरिएको छ।
त्यसैले प्रभावित क्षेत्रमा सुरक्षित पानीको प्रयोग, सरसफाइ तथा रोगको प्रारम्भिक पहिचानलाई प्राथमिकतामा राखिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार सम्भावित संक्रमितको समयमै पहिचान गरी उपचार गर्ने व्यवस्था मिलाउनसमेत आवश्यक तयारी भइरहेको छ।
२१ भाद्र २०८३, आईतवार १४:३४