कृष्णभीरमा चिरा देखिएपछि पनि वैकल्पिक ट्रयाकको काम तीव्र

चितवन — त्रिशूली नदीको कटानले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड भासिएपछि रोकिएको यातायात खुलाउन वैकल्पिक ट्रयाक निर्माणको काम तीव्र पारिएको छ। तर नयाँ ट्रयाक निर्माण भइरहेको क्षेत्रभन्दा माथिल्लो भागमा जमिन चिरिएपछि कामसँगै थप पहिरोको जोखिमसमेत बढेको छ।

मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत पर्ने कृष्णभीरमा गत आइतबार नदीले सडकको तल्लो भाग कटान गरेपछि राजमार्ग अवरुद्ध भएको हो। यससँगै संघीय राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकमार्गमा आवागमन प्रभावित भएको छ।

यातायात तत्काल सञ्चालनमा ल्याउन सडक विभागले डाँडा काटेर करिब तीन सय मिटर लामो वैकल्पिक ट्रयाक खोलिरहेको छ। दुईतर्फबाट मेसिन परिचालन गरेर थालिएको काम शनिबार आपसमा जोडिएको थियो।

तर ट्रयाक निर्माण भइरहेको ठाउँबाट करिब ५० मिटर माथिको पाखामा ठाउँ–ठाउँमा जमिन चिरिएको भेटिएपछि प्राविधिक चुनौती थपिएको छ।

सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले आइतबार कृष्णभीर पुगेर सडकको अवस्था र भइरहेको कामको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा अपेक्षा गरेभन्दा बढी चिरा देखिएको जैसीले बताए।

‘सोचेभन्दा अलि बढी क्र्याक (चिरा)हरू देखा परेको छ,’ उनले भने, ‘त्यसलाई तत्काल सील गर्ने र यसले ओभरअल सेफ्टीमा के असर गर्छ भन्ने विषयमा विज्ञले विश्लेषण गर्नुहुन्छ।’

तर चिरा देखिएको भन्दै वैकल्पिक ट्रयाक निर्माणको काम भने नरोकिने उनले स्पष्ट पारे। ‘हामी काम रोक्दैनौं । काम तीव्र बनाउँछौं । जति सक्दो छिटो यातायात सञ्चालन गर्नेछौं,’ जैसीले भने।

काम छिटो सम्पन्न गर्न आवश्यक परे रातिको समयमा समेत निर्माण अघि बढाउने तयारी भइरहेको उनले बताए।

पुरानो पहिरोमाथि बनेको सडक फेरि बग्यो

कृष्णभीरमा पहिरोको समस्या नयाँ भने होइन। करिब तीन दशकअघि पनि निरन्तर पहिरोका कारण यो क्षेत्रमा सडक अवरुद्ध हुने गरेको स्थानीयहरू बताउँछन्।

मुग्लिन–नागढुंगा सडक विस्तार आयोजनामा परामर्शदाताका रूपमा काम गरिरहेका सिभिल इन्जिनियर प्रभुराज पाण्डे कृष्णभीरको पुरानो अवस्थासँग परिचित छन्।

उनका अनुसार २०५०/५२ सालतिर मलेखु–मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍याएको थियो। त्यसबेला क्षतिग्रस्त स्थानमा निर्माण गरिएको सडक लामो समयसम्म सञ्चालनमा रहे पनि अहिले त्रिशूलीको कटानले त्यही संरचना बगाएको हो।

‘२०/२२ वर्षसम्म पहिरोमाथि बनेको सडक सञ्चालनमा रह्यो, तर अहिले बग्यो,’ पाण्डेले भने, ‘लाइफलाइन बन्द भएपछि केही न केही त गर्नुपर्‍यो भनेर तीन सय मिटर जति नयाँ ट्रयाक खोल्न लागिएको हो।’

उनका अनुसार तीन दिनअघि ट्रयाक निर्माण सुरु गरिएको थियो। दुईतर्फबाट काम गरिरहेका मेसिन शनिबार एकअर्कासँग जोडिएका थिए।

ट्रयाक बनेपछि स्थानीयलाई केही राहत

वैकल्पिक ट्रयाक निर्माणको काम अघि बढेसँगै स्थानीयले पैदल आवतजावतका लागि त्यसको उपयोग गर्न थालेका छन्। निर्माणमा प्रयोग भइरहेका मेसिन रोकिएका बेला स्थानीयहरू नयाँ बाटो हुँदै वारपार गर्ने गरेका छन्।

कृष्णभीरको पुरानो समस्या सम्झिँदै स्थानीय अम्बिका कँडेलले विगतमा लामो समयसम्म सडक बन्द हुने गरेको बताइन्।

‘०५० सालतिर लामो समयसम्म बन्द हुन्थ्यो,’ उनले भनिन्, ‘०५९/६० सालसम्म पनि कृष्णभीरले निकै दुःख दियो। गाडीहरू बन्द हुन्थे।’

केही वर्षयता भने कृष्णभीरमा पहिरोको समस्या खासै नदेखिएको उनको भनाइ छ। अहिले नदीले सडक नै बगाएपछि फेरि समस्या दोहोरिएको उनले बताइन्।

स्थानीय देवी सिलवालका अनुसार विगतमा बाँस तथा विभिन्न प्रजातिका रुखबिरुवा लगाउने र भीरको माथिबाट बग्ने पानी व्यवस्थापन गर्ने काम गरेपछि पहिरोको समस्या केही नियन्त्रणमा आएको थियो।

तर अहिले कृष्णभीरको माथिल्लो भागमा जमिन चिरिएपछि फेरि ठूलो समस्या निम्तिने हो कि भन्ने चिन्ता स्थानीयमा छ।

तत्काल ट्रयाक, दीर्घकालमा पुल वा सुरुङ

सडक विभागले अहिलेको प्राथमिकता तत्काल यातायात सञ्चालनमा ल्याउनु रहेको जनाएको छ। त्यसका लागि वैकल्पिक ट्रयाक निर्माणलाई तीव्रता दिइएको हो।

साथसाथै कृष्णभीरको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विकल्पबारे पनि अध्ययन भइरहेको महानिर्देशक जैसीले बताए।

उनका अनुसार विज्ञहरूले कृष्णभीरमा पहिरो तथा सडक कटानको दीर्घकालीन समाधानबारे अध्ययन गरिरहेका छन्। त्यस क्रममा सुरुङ निर्माण गर्ने वा त्रिशूली नदीमाथि पुल बनाउने विकल्पबारे समेत अध्ययन भइरहेको छ।

‘तत्काल ट्रयाक खोलेर यातायात सुरु गर्ने र दीर्घकालीन समाधानका लागि टनेल बनाउने या त्रिशूलीमाथि पुल बनाउने भन्ने विकल्पमा अध्ययन हुन्छ,’ जैसीले भने, ‘जुन किफायती र भरपर्दो हुन्छ, त्यही विकल्प अपनाउनेछौं।’

कृष्णभीरमा देखिएको जमिनको चिरा र नदी कटानको अवस्थाले तत्काल सडक खुलाउने प्रयाससँगै दीर्घकालीन संरचनागत समाधानको आवश्यकता पनि देखाएको छ। सडक विभागले भने जोखिमको प्राविधिक मूल्यांकन गर्दै वैकल्पिक मार्ग निर्माणलाई अघि बढाइरहेको जनाएको छ।

२२ भाद्र २०८३, सोमबार ०९:०५