बाढीपछि बालबालिकामा बढ्दो मानसिक त्रास

काठमाडौं — १० भदौमा आएको बाढीले घर, परिवार र आफन्त गुमाएका धेरै बालबालिकाको मनमा अझै त्रास हटेको छैन। बाढीको दृश्य सम्झिँदा झस्किने, राति निदाउन नसक्ने, ठूलो आवाज सुन्दा तर्सिने र एक्लै बस्ने समस्या उनीहरूमा देखिएको छ।

नुवाकोटकी १६ वर्षीया समीक्षा डंगोल अहिले पनि बाढीको दिन सम्झँदा असहज हुन्छिन्। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी बाढीको खबर आएपछि विद्यालयबाट घर फर्किँदै थिइन्। बाटोमै उनका बुबा लिन आएका थिए। तर पुलमा बाढी बढेकाले प्रहरीले उनीहरूलाई अघि बढ्न दिएन।

घरमा रहेका दिदीभाइहरू सुरक्षित स्थानतर्फ गएका होलान् भन्ने उनीहरूले सोचेका थिए। पछि घरमै रहेका उनीहरू बाढीमा परेर बेपत्ता भएको खबर आयो। त्यस घटनामा समीक्षाले दिदी, भाइ र दुई निनी गुमाइन्।

केही दिन होल्डिङ सेन्टरमा बसेपछि अहिले मामाघरमा रहेकी समीक्षा अझै सामान्य अवस्थामा फर्कन सकेकी छैनन्। निद्रा नलाग्ने, परिवारका सदस्यहरूको सम्झना आइरहने र मनमा छटपटी हुने समस्या उनलाई छ। बाढीपछि मानसिक तनावकै कारण माइग्रेनसमेत बढेको उनले बताएकी छन्।

रसुवाकी कार्साङ तामाङको २१ महिने छोरा पनि बाढीपछि सामान्य अवस्थामा छैनन्। १० भदौमा बाढी आउँदा कार्साङले सुतिरहेका छोरालाई बोकेर सुरक्षित स्थानतर्फ भागेकी थिइन्। त्यस दिनको त्रास अझै उनको छोराको व्यवहारमा देखिन्छ। ठूलो आवाज आउँदा, विशेषगरी हेलिकोप्टरको आवाज सुन्दा उनी तर्सिएर रुने गरेका छन्।

काठमाडौंस्थित एलो गुम्बामा आश्रय लिइरहेकी कार्साङ अहिले छोराको मानसिक अवस्थालाई लिएर चिन्तित छिन्। बाढीअघि कहिल्यै नदेखिएको डर र आत्तिने व्यवहार अहिले छोरामा देखिएको उनको भनाइ छ।

१७ हजार बालबालिका प्रभावित

बाढीका कारण कति बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ भन्ने यकिन तथ्यांक भने अझै छैन। युनिसेफका अनुसार बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा अध्ययनरत ६ हजार ९ सय १ विद्यार्थी बाढीबाट प्रभावित भएका छन्। त्यस्तै, जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयको विवरणअनुसार रसुवा र नुवाकोटका मात्रै ६२२ विद्यार्थी बाढीपछि सम्पर्कविहीन रहेको अनुमान गरिएको छ।

बाढीमा फसेका कतिपय बालबालिकालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ। रसुवाको टिमुरेबाट १२ भदौमा उद्धार गरिएकी ६ वर्षीया बालिका पनि अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

उद्धारका क्रममा रोएको आवाज सुनेपछि सुरक्षाकर्मीले खोजी गर्दा उनी भेटिएकी थिइन्। शरीरमा चोट लागेकी उनलाई काठमाडौं ल्याइएको थियो। उनकी आमाका अनुसार अस्पतालमा सुरुका दिनमा छोरी चुपचाप आमालाई मात्र हेरिरहन्थिन्। चिकित्सकले बाढीका कारण केही कुरा बिर्सिएको र निमोनियासमेत भएको बताएका थिए।

बालबालिकामा देखिँदै छन् मानसिक आघातका लक्षण

विशेषज्ञहरूका अनुसार विपद्का बेला बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। वयस्कको तुलनामा बालबालिकामा तनाव व्यवस्थापन र भावनालाई नियन्त्रण गर्ने क्षमता पूर्ण रूपमा विकसित भइसकेको हुँदैन।

मनोचिकित्सक डा. अमित झाका अनुसार विपद्पछि बालबालिकामा निद्रा नलाग्ने, मुटु तीव्र गतिमा धड्किने, पसिना आउने र सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन सक्छन्। सुरुवाती चरणमा देखिने यस्ता समस्या ‘एक्युट स्ट्रेस रियाक्सन’ हुन सक्छन्।

यस्ता लक्षण दुई–तीन साताभन्दा बढी निरन्तर रहेमा एन्जाइटी वा डिप्रेसिभ डिसअर्डरको रूप लिन सक्ने र लामो समयसम्म समस्या कायम रहे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) समेत हुन सक्ने उनी बताउँछन्।

परिवारका सदस्य वा आफन्त गुमाएका बालबालिकामा यस्तो समस्या अझ बढी देखिन सक्ने उनको भनाइ छ।

विपद्को प्रत्यक्ष प्रभावमा नपरेका बालबालिका पनि पूर्ण रूपमा सुरक्षित भने नहुने विशेषज्ञ बताउँछन्। मोबाइल, टेलिभिजन वा सामाजिक सञ्जालमा बाढी तथा विनाशका दृश्य बारम्बार हेर्दा उनीहरूमा समेत डर, आत्तिने र छटपटीजस्ता समस्या उत्पन्न हुन सक्ने भएकाले बालबालिकाका अगाडि यस्ता सामग्रीको अत्यधिक प्रयोग नगर्न सुझाव दिइएको छ।

खेल, संवाद र नियमित दिनचर्या आवश्यक

बाढी प्रभावित बालबालिकालाई मानसिक आघातबाट बाहिर ल्याउन अहिले उनीहरूको सुरक्षा र भावनात्मक आवश्यकतालाई प्राथमिकता दिनुपर्ने सरोकारवालाहरू बताउँछन्।

नुवाकोटको देवीघाटस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका बालबालिकासँग काम गरेका नेपाल स्काउटका ऋतिक मगियाका अनुसार सुरुवाती दिनमा धेरै बालबालिका अत्यन्तै दुःखी र डराएका देखिन्थे। कतिपय बालबालिका समूहमा समेत बस्न चाहँदैनथे।

तर उनीहरूलाई खेल, कथा, चित्र बनाउने र अन्य सामूहिक गतिविधिमा सहभागी गराउन थालेपछि व्यवहारमा परिवर्तन देखिन थालेको उनले बताए। अहिले सुरुमा बोल्नसमेत नचाहने बालबालिका स्वयंसेवकहरूसँग घुलमिल हुने, खेल्ने र आफ्ना कुरा राख्ने अवस्थामा पुगेका छन्।

डा. झाका अनुसार यस्तो अवस्थामा बालबालिकालाई ‘तिमी सुरक्षित छौ’ भन्ने अनुभूति गराउनु पहिलो आवश्यकता हो। पीडित बालबालिकालाई घटनाबारे पटक–पटक प्रश्न गरेर पुरानो त्रास सम्झाउनुभन्दा उनीहरूको कुरा सुन्ने र आफ्ना भावना व्यक्त गर्न दिने वातावरण बनाउनुपर्छ।

सम्भव भएसम्म बालबालिकालाई उनीहरूको पुरानै दिनचर्यामा फर्काउनुपर्ने उनको सुझाव छ। परिवार, आफन्त र समुदायले उनीहरूसँग समय बिताउने, खेल्ने र समूहगत गतिविधिमा सहभागी गराउने गर्नुपर्छ। चित्र बनाउन, खेल्न र सिर्जनात्मक गतिविधिमा सहभागी गराउन पनि उनले सुझाव दिएका छन्।

सबैभन्दा महत्वपूर्ण कुरा बालबालिकालाई सकेसम्म छिटो विद्यालय र नियमित सामाजिक वातावरणमा फर्काउनुपर्ने उनको भनाइ छ।

मानसिक स्वास्थ्य सेवाको व्यवस्था

राष्ट्रिय बाल अधिकार परिषद्ले प्रभावित बालबालिकाको मानसिक स्वास्थ्य तथा संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार प्रभावित बालबालिकाको अवस्थाबारे अध्ययनसँगै स्वयंसेवक, चिकित्सक तथा परामर्शदाताको टोली परिचालन गर्ने काम भइरहेको छ। आवश्यकताअनुसार स्थानीय तह र सेवा प्रदायक संस्थामार्फत परामर्श तथा अन्य सेवा उपलब्ध गराउन सहजीकरण भइरहेको उनले बताए।

विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीका अनुसार प्रभावित क्षेत्रमा तीनै तहका सरकारका स्वास्थ्य टोलीमार्फत मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको छ। बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थाहरूले समेत होल्डिङ सेन्टरमै पुगेर सेवा दिइरहेका छन्।

परिवारविहीन तथा प्रभावित बालबालिकाका लागि आवासीय व्यवस्था गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिइन्। दुईवटा आवासीय विद्यालयमा त्यस्ता बालबालिकालाई राख्ने निर्णय गरिएको उनको भनाइ छ।

बालबालिकालाई विभिन्न गतिविधिमा सहभागी गराउने, खेल्ने ठाउँ उपलब्ध गराउने र सुरक्षित वातावरण बनाउने काम पनि भइरहेको छ।

परिवारबाट छुट्टिएका बालबालिका थप जोखिममा

विपद्पछि बालबालिकाको मानसिक स्वास्थ्यसँगै उनीहरूको सुरक्षा अर्को ठूलो चुनौती बनेको छ। परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिका बेचबिखन, बालश्रम, हिंसा तथा अन्य प्रकारका शोषणको जोखिममा पर्न सक्ने सरोकारवालाहरूले चेतावनी दिएका छन्।

राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलका अनुसार विपद्का बेला परिवारबाट छुट्टिएका बालबालिकामा मानसिक तथा सामाजिक जोखिम बढ्छ। सुरुमा नदेखिए पनि मानसिक असर पछि देखिन सक्ने भएकाले उनीहरूको निरन्तर निगरानी र संरक्षण आवश्यक हुन्छ।

उनका अनुसार बालबालिकालाई संरक्षण गर्ने नाममा समेत उनीहरूलाई बेचबिखन गर्ने वा शोषणमा पार्ने जोखिम हुन्छ। सामाजिक सञ्जालमा बाढीपीडित बालबालिकाका तस्बिर तथा भिडियोमा ‘म पाल्छु’, ‘म लैजान्छु’ जस्ता टिप्पणीसमेत देखिन थालेकाले त्यस्ता गतिविधिमा विशेष निगरानी आवश्यक छ।

बालबालिकालाई ‘कन्टेन्ट’ बनाएर आर्थिक लाभ लिन खोज्ने वा उनीहरूको नाममा रकम संकलन गर्ने सम्भावनासमेत रहेकाले उद्धारपछि उनीहरूको जिम्मेवारी लिने व्यक्ति वा संस्थामाथि राज्यले निगरानी गर्नुपर्ने धरेलको सुझाव छ।

उनका अनुसार विपद्को अवस्थामा सरकारले दुई विषयलाई तत्काल प्राथमिकता दिनुपर्छ—खोजी तथा उद्धारमा बाल संवेदनशीलता अपनाउने र बालबालिकाको जिम्मेवारी लिने व्यक्ति वा संस्थालाई कडा निगरानीमा राख्ने।

फोटो र भिडियो सार्वजनिक गर्न पनि सावधानी

बाढी प्रभावित बालबालिकाको फोटो, भिडियो तथा व्यक्तिगत विवरण सार्वजनिक गर्ने विषयमा पनि सरोकारवाला निकायले चासो व्यक्त गरेका छन्।

साझा सहयात्री नेपालकी संस्थापक अध्यक्ष गीता केसी दर्नालले विपद्को मौका पारेर बालबालिकामाथि शारीरिक तथा अन्य प्रकारको हिंसा हुन सक्ने भएकाले उनीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएकी छन्।

उनका अनुसार बालबालिकाको फोटो वा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्दा त्यसले उनीहरूको मानसिक अवस्थामाथि थप असर पार्न सक्छ।

राष्ट्रिय बाल अधिकार परिषद् र नेपाल प्रहरीले समेत बाढी प्रभावित बालबालिकाको उद्धार तथा राहतका क्रममा खिचिएका फोटो, भिडियो र व्यक्तिगत विवरण सार्वजनिक नगर्न आग्रह गरेका छन्।

बालबालिकाको गोपनीयता, आत्मसम्मान र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने भएकाले उनीहरूको पहिचान खुल्ने सामग्री सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

बाढीबाट बालबालिकालाई सुरक्षित स्थानमा पुर्‍याउनु उद्धारको पहिलो चरण भए पनि उनीहरूलाई मानसिक आघातबाट बाहिर निकाल्नु अर्को महत्वपूर्ण चुनौती हो। त्यसका लागि परिवार, समुदाय, विद्यालय, स्थानीय तह र राज्यका निकायले मिलेर सुरक्षित वातावरण, नियमित दिनचर्या, मनोसामाजिक सहयोग र शिक्षा निरन्तरताको व्यवस्था गर्नुपर्ने देखिन्छ।

२२ भाद्र २०८३, सोमबार ०८:५८