काठमाडौँ, २२ भदौ। नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीप्रति अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गहिरो दुःख व्यक्त गरेका छन्। अस्ट्रेलियाली संसद्मा सम्बोधन गर्दै उनले विपद्का कारण नेपालले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गरे।
गत अगस्ट २६ मा हिमपहिरोपछि आएको बाढीले सीमा क्षेत्रका विभिन्न ठाउँमा ठूलो असर पारेको थियो। त्यसबाट धेरै मानिसले आफन्त, घर तथा जीविकोपार्जनका आधार गुमाउनुपरेको अल्बानिजले बताए।
बाढीपछि अझै पनि केही मानिस सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनले उनीहरूको खोजी कठिन बन्दै गएको बताए। उनका अनुसार ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कमा आएका छैनन्। बेपत्ता नागरिकका परिवार र आफन्तप्रति सम्पूर्ण अस्ट्रेलियाको ध्यान केन्द्रित रहेको उनले बताएका छन्।
नेपालमा राष्ट्रिय शोक मनाइरहेको सन्दर्भमा अल्बानिजले नेपाली समुदायप्रति ऐक्यबद्धता जनाए। उनले विपद्को पीडा सामना गरिरहेका नेपालीहरूलाई आफूहरू साथमा रहेको सन्देश दिएका छन्।
अल्बानिजका अनुसार उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवादसमेत गरेका थिए। कुराकानीका क्रममा उनले अस्ट्रेलियाको तर्फबाट बाढीपीडितप्रति समवेदना व्यक्त गरेको जानकारी संसद्लाई दिए।
नेपाली समुदायसँग निरन्तर सम्पर्क
अस्ट्रेलिया सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग समन्वय गरिरहेको पनि प्रधानमन्त्री अल्बानिजले बताए। बेपत्ता अस्ट्रेलियाली नागरिकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको उनको भनाइ थियो।
उनले कठिन परिस्थितिका बाबजुद आशा कायम राख्न आग्रह गरेका छन्। विपद् राहतका लागि अस्ट्रेलियामा सञ्चालन गरिएको अपिलमा सर्वसाधारणले देखाएको सहयोग र उदारताको पनि उनले प्रशंसा गरे।
अल्बानिजले यस्तो सहयोगले ठूलो विपद्को समयमा अस्ट्रेलियाली समाज एकजुट भएर मानवीय सहयोगमा उभिन सक्ने देखाएको बताए।
२२ भाद्र २०८३, सोमबार १३:३०