सुनकोशी नदीमा जल उत्पन्न विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न


जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा जल उत्पन्न विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास (सिमुलेशन एक्सरसाइज) सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल नं. १६ गणको आयोजनामा विभिन्न सुरक्षा निकाय तथा स्थानीय तहहरूको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।


मनसुनजन्य विपद्का समयमा हुने डुबान, बाढी तथा नदीजन्य जोखिमलाई मध्यनजर गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अभ्यास गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा पानीमा फसेका व्यक्तिको उद्धार, डोरी तथा बोटमार्फत गरिने रेस्क्यु, आपत्कालीन प्राथमिक उपचार तथा समन्वयात्मक उद्धार अभ्यास प्रदर्शन गरिएको थियो।
अभ्यासका क्रममा आधुनिक उद्धार सामग्री र प्रविधिको प्रयोग गरिएको थियो भने सुरक्षा निकायबीचको समन्वय, द्रुत प्रतिकार्य क्षमता तथा विपद्का समयमा अपनाउनुपर्ने सतर्कताबारे समेत जानकारी गराइएको थियो।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
उपस्थित वक्ताहरूले मनसुनको समयमा नदी तथा खोलामा हुने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्दै यस्ता कृत्रिम घटना अभ्यासले विपद् व्यवस्थापन, उद्धार कार्यमा दक्षता अभिवृद्धि तथा निकायहरूबीच समन्वय मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

१३ जेष्ठ २०८३, बुधबार १०:५२