सुनकोशी गाउँपालिका र केएमसी अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

जनतापत्र,सिन्धुपाल्चोक ।
सुनकोशी गाउँपालिकाका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज, सुलभ र प्रभावकारी बनाउने उद्देश्यले सुनकोशी गाउँपालिका र केएमसी अस्पतालबीच महत्वपूर्ण स्वास्थ्य सेवा सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार सुनकोशी गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकहरूले केएमसी अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्। यस व्यवस्थाले गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा कम खर्चमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका वर्षेनी १० जना बिरामीलाई गाउँपालिकाको सिफारिसमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सहमति समेत भएको छ। यसबाट उपचार खर्च अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनसक्ने नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ।

स्थानीय सरकार र स्वास्थ्य संस्थाबीच भएको यस सहकार्यलाई सुनकोशी गाउँपालिकाको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सम्झौताले नागरिकको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउनुका साथै सामाजिक उत्तरदायित्व र जनसेवाप्रति दुवै पक्षको प्रतिबद्धता समेत उजागर गरेको छ।

गाउँपालिकाले आगामी दिनमा पनि नागरिकलाई गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ। स्थानीयवासीहरूले समेत उक्त सम्झौताले ग्रामीण भेगका नागरिकहरूलाई राहत पुग्ने र स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा व्यक्त गरेका छन्।

२९ जेष्ठ २०८३, शुक्रबार २१:२८