सुनकोशी गाउँपालिकामा वार्षिक समीक्षा, योजना कार्यान्वयन र सेवा प्रवाह सुधारमा जोड

सिन्धुपाल्चोक — सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीको अध्यक्षता तथा उपाध्यक्ष कान्छी लामाको प्रमुख आतिथ्यतामा समीक्षा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्षहरूको सहभागिता रहेको थियो। समीक्षा क्रममा गत आर्थिक वर्षमा सञ्चालन तथा सम्पन्न गरिएका विकास योजना, विभिन्न कार्यक्रम, सार्वजनिक सेवा प्रवाह र प्रशासनिक गतिविधिको प्रगति तथा उपलब्धिबारे छलफल गरिएको थियो।

त्यसक्रममा योजना कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती र सिकाइका विषयमा सहभागीहरूले अनुभव आदानप्रदान गरेका थिए। साथै, सञ्चालन गरिएका कार्यक्रमले अपेक्षित परिणाम दिन सके–नसकेको समीक्षा गर्दै आगामी आर्थिक वर्षमा योजना तथा कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा समेत छलफल भएको थियो।

गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवामा नागरिकको सहज पहुँच र गुणस्तर बढाउने, विकास निर्माणका काम समयमै सम्पन्न गर्ने तथा कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको जनाइएको छ।

वार्षिक समीक्षा कार्यक्रमले अघिल्लो आर्थिक वर्षका कामको वस्तुगत मूल्याङ्कनसँगै आगामी दिनका प्राथमिकता र सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ। समीक्षा बैठकबाट योजना कार्यान्वयनमा प्रभावकारिता बढाउने, सेवा प्रवाह सुधार गर्ने तथा पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउँदै संस्थागत सुधारमार्फत गाउँपालिकाको समग्र विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

४ भाद्र २०८३, बिहीबार २१:०४