जनतापत्र,सिन्धुपाल्चोक ।
सुनकोशी गाउँपालिकाका विद्यालयमा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई आधुनिक फिल्ट्रेसन प्रविधिबाट शुद्धीकरण गरिएको स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले आकाशीय पानी संकलन तथा फिल्ट्रेसन प्रविधि विस्तार गरिएको छ। ग्राभिटी वाटर नेपाल संस्थाको आर्थिक तथा प्राविधिक सहयोग र सुनकोशी गाउँपालिकाको समन्वयमा पहिलो चरणमा गाउँपालिकाका पाँच विद्यालयमा संकलित वर्षाको पानी तथा मुहानबाट आउने पानी शुद्धीकरण गर्ने प्रणाली जडान भइसकेको छ।

गाउँपालिकासँगको समन्वयमा अघि बढाइएको उक्त कार्यक्रमबारे गाउँपालिका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाले पालिकाका विद्यालयका लागि यो प्रविधि उपयुक्त रहेको जानकारी दिँदै वर्षायाममा आकाशबाट संकलन हुने पानी तथा विद्यालयमै उपलब्ध पानीका स्रोतलाई समेत गुणस्तरीय फिल्ट्रेसन प्रविधिमार्फत शुद्धीकरण गरी सुरक्षित खानेपानीका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको बताउनुभएको छ।
जडान गरिएको प्रणालीले छानाबाट संकलित वर्षाको पानी र मुहानबाट आउने पानीलाई आवश्यक प्रक्रियामार्फत परिशोधन गरी विद्यालयमा सुरक्षित रूपमा उपयोग गर्न सहयोग पु¥याउनेछ। यसबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वच्छ खानेपानीमा पहुँच बढ्नुका साथै पानीजन्य रोगको जोखिम न्यूनीकरण, वातावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयमा सुरक्षित खानेपानीको उपलब्धता विद्यार्थीको स्वास्थ्य, नियमित उपस्थिति र सिकाइको वातावरणसँग प्रत्यक्ष रूपमा जोडिएकाले गाउँपालिकाले यस विषयलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। स्थानीय पानीका स्रोतको सदुपयोग गर्दै विद्यालयमै पानी प्रशोधन गर्ने व्यवस्था भएपछि बाह्य पानीका स्रोतमा निर्भरता घट्नुका साथै दीर्घकालीन रूपमा खानेपानी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

यसैबीच, पहिलो चरणमा पाँच विद्यालयमा जडान गरिएको प्रणालीको अनुभव र प्रभावकारिताका आधारमा गाउँपालिकाका बाँकी विद्यालयमा समेत प्रविधि विस्तार गर्ने विषयमा गाउँपालिका अध्यक्ष तिमल्सिना र ग्राभिटी वाटर नेपालका प्रतिनिधिबीच छलफल भएको छ। छलफलमा हालसम्मको प्रगति, प्रणालीको उपयोगिता, आगामी आवश्यकता तथा थप विस्तारका सम्भावनाबारे समीक्षा गरिएको थियो।
छलफलपछि गाउँपालिकाभित्रका बाँकी विद्यालयमा समेत आधुनिक पानी प्रशोधन प्रणाली विस्तार गर्ने सहमति भएको छ। आवश्यक प्रक्रिया पूरा गरी आगामी दुईदेखि तीन महिनाभित्र थप विद्यालयमा उपकरण जडान गर्ने तयारी गरिएको जनाइएको छ। यसबाट पालिकाका थप विद्यार्थी, शिक्षक तथा कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष तिमल्सिनाले विद्यालयमा स्वच्छ खानेपानीको सुनिश्चितता गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै स्थानीय पानीका स्रोतलाई व्यवस्थित रूपमा प्रशोधन गरी प्रयोग गर्न सकेमा स्वास्थ्य सुरक्षासँगै दीर्घकालीन खानेपानी व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभएको छ।

ग्राभिटी वाटर नेपालको आर्थिक तथा प्राविधिक सहयोगले विद्यालयमा आधुनिक आकाशीय पानी संकलन तथा परिशोधन प्रविधि भित्र्याउन सहज भएको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोतको उपयोग, वर्षाको पानी संकलन तथा आवश्यक शुद्धीकरण र सुरक्षितीकरणमा आधारित भएकाले यो प्रविधि विद्यालयका लागि व्यावहारिक र दिगो समाधान बन्न सक्ने अपेक्षा गरिएको छ।
विद्यालयमा जडान गरिएका प्रणालीको नियमित सञ्चालन, संरक्षण तथा आवश्यक मर्मतसम्भारमा सम्बन्धित विद्यालयको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालय व्यवस्थापन पक्षलाई समेत जिम्मेवार बनाइने बताइएको छ। साथै, पानीको पहुँच मात्र नभई पानीको गुणस्तरलाई समेत प्राथमिकतामा राखेर विद्यालय तथा समुदायमा स्वच्छ पानी, वर्षाको पानीको सदुपयोग र सुरक्षित खानेपानी व्यवस्थापनसम्बन्धी अभ्यासलाई प्रोत्साहन गरिनेछ।
पहिलो चरणमा पाँच विद्यालयबाट सुरु गरिएको यो पहल अन्य विद्यालयमा समेत विस्तार भएपछि सुनकोशी गाउँपालिकाका विद्यालयमा सुरक्षित तथा स्वच्छ खानेपानीको पहुँच थप सुनिश्चित हुने अपेक्षा गरिएको छ। गाउँपालिका, ग्राभिटी वाटर नेपाल र सम्बन्धित विद्यालयबीचको सहकार्यलाई निरन्तरता दिँदै कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन सकेमा स्थानीय पानीका स्रोतको दिगो उपयोगसँगै विद्यालयको खानेपानी व्यवस्थापनमा समेत नयाँ अभ्यास स्थापित हुने देखिएको छ।
२९ श्रावण २०८३, शुक्रबार १३:२८