भीमफेदी माइक्रो दुर्घटनामा १४ जनाको मृत्यु, ११ जनाको पहिचान खुल्यो

हेटौँडा — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ। दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान भएको दुर्घटनामा चार महिला, तीन बालिका र सात पुरुषको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। उनीहरूमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार पहिचान खुलेका मृतकमा सर्लाही कविलासी–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल, चक्रघट्टा–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुहु यादव, ३२ वर्षीया गायत्री यादव, रामदुलार यादव, २४ वर्षीय सुवोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।

अझै तीन जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। बिहान पौने ६ बजे भएको दुर्घटनाका बेला माइक्रोमा बालबालिकासहित २० जना सवार थिए।

छठपर्व मनाउन घर फर्किरहेका यात्रु दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

२७ कार्तिक २०८३, बिहीबार १६:३४