चितवनमा ईभी कारको ठक्करबाट महिलाको मृत्यु, दुई पैदलयात्री घाइते

चितवन । चितवनको भरतपुरमा कारको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा नवीनचोकतर्फ गइरहेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

कारको ठक्करबाट घाइते भएका अन्य दुई पैदलयात्रीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनामा संलग्न कार र त्यसका चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२८ कार्तिक २०८३, शुक्रबार १२:०७