सिन्धुपाल्चोक । प्राकृतिक विपत्तिले परिवारको अभिभावक गुमाएका बालबालिकाको शिक्षा र पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यले दक्षिण कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।
रसुवा बाढीमा ज्यान गुमाएका बलेफी गाउँपालिका–६ का तीन परिवारलाई दक्षिण कोरिया नेपाल सम्पर्क समाजले आर्थिक सहायता उपलब्ध गराएको हो। आफन्त गुमाउँदाको अपूरणीय क्षति पूर्ति गर्न नसकिए पनि बालबालिकाको दैनिक जीवन र अध्ययनमा केही सहजता ल्याउने उद्देश्यले सहयोग गरिएको समाजले जनाएको छ।
समाजका कोषाध्यक्ष बेदनाथ आचार्यको नेतृत्वमा तथा बलेफी गाउँपालिका–६ का वडाध्यक्ष तेजबहादुर पराजुलीको समन्वयमा पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो।
सहयोग प्राप्त गर्नेमा मृतक सन्चमान तामाङकी श्रीमती माइली तामाङ, भुवन कोइरालाको परिवारबाट मिना पराजुली र सुभाष तामाङकी श्रीमती योगमाया तामाङ रहेका छन्।
वडाध्यक्ष पराजुलीका अनुसार विपत्तिमा अभिभावक गुमाएका बालबालिकाको भविष्यलाई केही सहज बनाउन सहयोग उपलब्ध गराइएको हो। उनीहरूलाई पालनपोषण र शिक्षादीक्षामा सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
परिवारको मुख्य अभिभावक गुमाउँदा बालबालिकाले भावनात्मक पीडासँगै आर्थिक र शैक्षिक चुनौतीसमेत सामना गर्नुपर्ने अवस्था आउँछ। यस्तो परिस्थितिमा रोजगारी र अवसरको खोजीमा देशबाहिर रहेका नेपालीहरूले आफ्नै गाउँका पीडित परिवारलाई सम्झिएर गरेको सहयोगले मानवीय सम्बन्ध र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
यो सहयोग आर्थिक राहतमा मात्र सीमित छैन। अभिभावक गुमाएका बालबालिकाको कठिन यात्रामा उनीहरूसँगै साथ दिने कोही छन् भन्ने विश्वास जगाउने प्रयास पनि हो।
२८ कार्तिक २०८३, शुक्रबार १०:३३