भीमफेदी दुर्घटनाका १४ शव अस्पतालमै, व्यवस्थापनमा चुनौती

मकवानपुर । मृतकका आफन्तले क्षतिपूर्तिसहित विभिन्न माग अघि सार्दै शव बुझ्न अस्वीकार गरेपछि मकवानपुरको हेटौँडा अस्पतालमा भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १४ जनाको शव व्यवस्थापनमा कठिनाइ भएको छ।

बिहीबार भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका सबैको शव हेटौँडा अस्पतालमा राखिएको छ। पीडित परिवारले क्षतिपूर्ति, रोजगारी र घाइतेको उपचार खर्चको व्यवस्था गर्नुपर्ने माग राख्दै माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

मृतकका आफन्तले प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन्।

एकैपटक ठूलो संख्यामा शव अस्पतालमा राख्नुपर्दा भौतिक पूर्वाधारको क्षमताले समेत साथ नदिएको देखिएको छ। हेटौँडा अस्पतालका डा. हरि खड्काका अनुसार अस्पतालको शव राख्ने कक्षमा एकपटकमा बढीमा चारवटा शव मात्र राख्न सकिन्छ। तर दुर्घटनामा १४ जनाको मृत्यु भएपछि सबै शव एकै ठाउँमा राख्न व्यवस्थापनमा समस्या उत्पन्न भएको हो।

यसैबीच, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकका शव आफन्तको जिम्मा लगाएर गाउँसम्म पुर्‍याउने आन्तरिक तयारी गरेका छन्। तर आफन्तहरू आफ्ना माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडानमा रहेपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

२८ कार्तिक २०८३, शुक्रबार १०:५०