काठमाडौं, २६ कात्तिक। कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। यो जितसँगै विराटनगरले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।
विराटनगरले ६ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। यससँगै टोलीको प्लेअफ पुग्ने सम्भावना कायम रहेको छ। विराटनगरले अब लिग चरणको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ।
यता छैटौँ खेलमा पाँचौँ हार बेहोरेको पोखरा भने प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। दुई अंक मात्रै जोड्न सकेको पोखराको प्लेअफ यात्रा समाप्त भएको छ।
विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। उनले ३९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। ओपनर लोकेश बमले २७ बलमा ३३ रनको योगदान दिए।
त्यस्तै इसुरु उडानाले १२ बलमा चार चौका र एक छक्कासहित अविजित २५ रन बनाए। उनले विजयी चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। शेहान जयासूर्याले पनि अविजित १७ रन जोडे।
पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले दुई–दुई विकेट लिए भने बिपिन खत्री र धनन्जय लक्षणले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको थियो। पोखराका युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन बनाए पनि टोलीलाई ठूलो योगफलसम्म पुर्याउन सकेनन्।
धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए।
यससँगै सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका रोहित पौडेलले पनि ह्याट्रिक गरेका थिए।
त्यस्तै एनपीएलमा एकै खेलमा ६ विकेट लिने सन्दीप तेस्रो खेलाडी बनेका छन्। यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एकै खेलमा ६ विकेट लिएका थिए।
विशेष कुरा, प्रतियोगिताका अघिल्ला पाँच खेलमा एक विकेट मात्रै लिन सकेका सन्दीपले यस खेलमा एक्लैले ६ विकेट लिएर विराटनगरको जितमा निर्णायक भूमिका खेले।
२७ कार्तिक २०८३, बिहीबार १६:३९