सुकुटे–२१ किलो सडक निरीक्षणमा मन्त्री पौडेल, बजेट अभाव हुन नदिने प्रतिबद्धता

सिन्धुपाल्चोक, २९ कात्तिक। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलसहितको टोलीले प्रदेश लोकमार्गअन्तर्गत सुकुटे–२१ किलो सडक खण्डको स्थलगत अनुगमन गरेको छ।

पूर्वसांसद माधव सापकोटा ‘सुबोध’, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा, जनप्रतिनिधि तथा प्राविधिक सम्मिलित टोलीले सुकुटे–मिलडाँडा–बाघभैरव–वाफल–लिसंखु–घ्याङडाँडा हुँदै २१ किलो पुग्ने सडकको अवस्था र निर्माण कार्यको प्रगति अवलोकन गरेको हो।

अनुगमनका क्रममा सडक स्तरोन्नतिको अवस्था, निर्माणमा देखिएका प्राविधिक समस्या तथा भौगोलिक कठिनाइबारे जानकारी लिइएको थियो। टोलीले सुनकोसी गाउँपालिकाका वडा नं. १ र २ तथा लिसंखुपाखर गाउँपालिकाका वडा नं. २ र ३ का स्थानीयसँग भेटेर उनीहरूका समस्या र मागसमेत सुनेको थियो।

स्थानीयले सडक निर्माणलाई गति दिन माग गर्दै खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका विषयमा पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीयका गुनासा र सुझाव सुनेपछि मन्त्री पौडेल र पूर्वसांसद सापकोटाले सडकलाई प्रदेशकै महत्त्वपूर्ण लोकमार्गका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले निर्माणका लागि बजेट अभाव हुन नदिने र कामको गुणस्तरमा सम्झौता नगर्ने बताएका छन्।

गाउँपालिका अध्यक्ष लामाले प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरेर क्षेत्रको पूर्वाधार विकासलाई अघि बढाइने बताए। प्राविधिक टोलीले स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार गरेपछि थप निर्माणका काम अघि बढाइने जनाइएको छ।

२९ कार्तिक २०८३, शनिबार १७:५२