पश्चिमी वायु सक्रिय हुँदै, आइतबार वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आइतबारदेखि देशका केही प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सम्भावित वर्षाले धानबालीमा क्षति पुर्‍याउन सक्ने भएकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म वर्षा र हिमपात हुन सक्नेछ। तराईका अधिकांश भूभागमा भने वर्षाको सम्भावना न्यून रहेको छ।

मौसमविद् बिनु महर्जनका अनुसार पश्चिमी वायुको प्रभावले आइतबार यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भई वर्षा र हिमपात हुन सक्छ। सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा समेत छिटपुट वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

वर्षाले धानबालीमा असर पार्न सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ। थोरै पानी पर्दासमेत काटेर सुकाउन राखिएको धान भिज्ने र क्षति पुग्ने जोखिम रहेको मौसमविद् महर्जनको भनाइ छ।

नेपाल कृषि संघका अनुसार पहाडी तथा उपत्यका क्षेत्रमा धान कटानको काम लगभग सम्पन्न भइसकेको छ। तर तराईका केही स्थानमा भने अझै धान काट्न बाँकी छ।

संघका अध्यक्ष पञ्चकाजी श्रेष्ठका अनुसार कोशी प्रदेशको उदयपुर, विराटनगर आसपास तथा सुदूरपश्चिमका केही तराई क्षेत्रमा धान कटान पूरा हुन सकेको छैन। पहाडी क्षेत्रमा धान भित्र्याउने काम लगभग सकिएकाले त्यहाँ वर्षाको प्रभाव तुलनात्मक रूपमा कम पर्ने उनको भनाइ छ।

आइतबारपछि मौसममा ठूलो परिवर्तन हुने सम्भावना नरहेको मौसमविद्हरूले बताएका छन्। यद्यपि, धान काटिसकेका र खेतमै रहेको बालीलाई सम्भावित वर्षाबाट जोगाउन किसानले आवश्यक तयारी गर्नुपर्ने देखिन्छ।

२९ कार्तिक २०८३, शनिबार १६:१५