शंकास्पद अटो जाँच्दा पेस्तोल भेटियो, हेटौंडामा दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडामा हतियार बोकेर हिँडेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शनिबार बिहान हेटौंडा उपमहानगरपालिका–१ तिरतिरेधारानजिक अटो रिक्सा जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

अवैध सामान ओसारपसार भइरहेको सूचना पाएपछि सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट डीएसपी सुवर्ण थापाको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले शंकास्पद अटो रोक्न खोज्दा त्यसमा सवार व्यक्तिले प्रहरीमाथि गोली चलाउने प्रयास गरेपछि एक राउन्ड हवाई फायर गरिएको थियो।

घटनापछि प्रहरीले अटोमा सवार महोत्तरीको मनराशिस्वा नयाँबस्तीका आमिर भनिने सुनबहादुर तामाङ र चालक विश्वराज मोक्तानलाई नियन्त्रणमा लिएको हो।

तलासीका क्रममा उनीहरूबाट ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली, एक थान म्यागजिन र तीनवटा एन्ड्रोइड मोबाइल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीले अटो रिक्सा पनि आफ्नो नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन सशस्त्र प्रहरी बलको नम्बर १४ गण हेटौंडामार्फत नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ।

२९ कार्तिक २०८३, शनिबार १६:२७