सिलाई तालिमबाट बनेका कपडा बालग्रामका बालबालिकालाई उपहार, ३७ जनाले पाए नयाँ पोशाक

जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको सीपमूलक सिलाई तालिमको उपलब्धिलाई सामाजिक सेवासँग जोड्दै प्रेरणादायी कार्य गरेको छ। तालिमका सहभागीहरूले सिकाइका क्रममा तयार गरेका कपडाहरू शहिद स्मृति बालग्राम, मेलचौरमा आश्रित ३७ जना बालबालिकालाई हस्तान्तरण गरिएको हो। नगरपालिकाको यो पहलले सीप विकाससँगै सामाजिक उत्तरदायित्वलाई पनि प्रभावकारी रूपमा जोडेको उदाहरण प्रस्तुत गरेको छ।

यसअघि सिलाई तालिमका क्रममा तयार भएका कपडाहरू प्रयोगविहीन भएर रहने वा अन्य प्रयोजनमा प्रयोग हुने गरेको थियो। तर यसपटक नगरपालिकाले आफ्नो लगानीबाट तयार भएका सामग्रीलाई आवश्यकतामा रहेका बालबालिकाको हितमा उपयोग गर्ने निर्णय गरेको हो। यसले तालिमको प्रत्यक्ष उपलब्धिलाई समाजसेवामा रूपान्तरण गरेको छ।

बालग्राममा आयोजित कार्यक्रममा बालबालिकालाई नयाँ कपडा हस्तान्तरण गरिएपछि उनीहरू निकै उत्साहित र खुसी देखिएका थिए। कार्यक्रममा बोल्दै सीता थापाले भनिन्, “सीप सिकेर तयार भएका सामग्रीलाई बालग्रामका बालबालिकालाई दिन पाउँदा हामीलाई निकै खुसी लागेको छ। तालिमको उद्देश्य केवल सीप सिकाउनु मात्र होइन, त्यसलाई समाजको आवश्यकतासँग जोड्नु पनि हो। बालबालिकाको अनुहारमा देखिएको मुस्कानले हाम्रो प्रयास सफल भएको अनुभूति दिलाएको छ।” नयाँ पोशाक प्राप्त गरेपछि बालबालिकाको अनुहारमा देखिएको मुस्कानले कार्यक्रमलाई थप भावुक र अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा सञ्चालित शहिद स्मृति बालग्राम, मेलचौरमा हाल ३७ जना बालबालिका आश्रित छन्। यहाँ आमाबाबुविहीन, टुहुरा, असहाय, जोखिममा परेका तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य सेवा तथा समग्र संरक्षणको व्यवस्था गरिएको छ। नगरपालिकाले बालबालिकाको सुरक्षित भविष्य निर्माणका लागि आवश्यक वातावरण सिर्जना गर्दै आएको जनाएको छ।

नगरपालिकाका अनुसार सीपमूलक तालिमहरू केवल रोजगारी र आत्मनिर्भरता हासिल गर्ने माध्यम मात्र नभई समाजप्रति उत्तरदायी नागरिक तयार गर्ने अवसर पनि हुन्। यही सोचअनुसार तालिमबाट उत्पादन भएका सामग्रीलाई समुदायका आवश्यकतासँग जोड्ने अभ्यास सुरु गरिएको हो। यसबाट तालिममा सहभागीहरूले व्यावहारिक अनुभव प्राप्त गर्नुका साथै समाजसेवाप्रति सकारात्मक भावना विकास गर्ने विश्वास गरिएको छ।

स्थानीयवासी तथा सरोकारवालाले नगरपालिकाको यस कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार तालिमबाट उत्पादन भएका सामग्रीलाई आवश्यकतामा रहेका समुदायसम्म पु¥याउने कार्यले सरकारी लगानीको प्रभावकारिता बढाउनुका साथै सामाजिक सद्भाव र मानवीय सहयोगको भावना पनि सुदृढ बनाउँछ।

नगरपालिकाले आगामी दिनमा पनि सीपमूलक तालिमहरूलाई उत्पादन, उद्यमशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै समुदायको हितमा उपयोग गर्ने योजना रहेको जनाएको छ। यस किसिमका कार्यक्रमले एकातिर तालिमको वास्तविक उपलब्धि देखाउने र अर्कोतर्फ आवश्यकतामा रहेका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने भएकाले यस्ता अभ्यासलाई थप विस्तार गरिने अपेक्षा गरिएको छ।
ऋयmउयकभ

१२ असार २०८३, शुक्रबार १४:५५