जनतापत्र चौतारा ।
“लागूऔषधको चुनौती चिनौँ, सामाजिक समाधानको बाटो खोजौँ” भन्ने मूल नाराका साथ लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताव्यापी कार्यक्रमको अन्तिम दिन आज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको भिन्तुना चोकदेखि टुँडिखेलसम्म निकालिएको प्रभातफेरीमा विभिन्न निकायका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

प्रभातफेरीको क्रममा सहभागीहरूले लागूऔषध नियन्त्रण, सचेतना अभिवृद्धि र समाजलाई दुव्र्यसनमुक्त बनाउने सन्देशसहितका प्लेकार्ड, ब्यानर र नाराबाजी गरेका थिए। “लागूऔषधबाट टाढा रहौँ”, “स्वस्थ जीवन रोजौँ”, “युवा शक्ति राष्ट्रको सम्पत्ति हो” जस्ता सन्देशमार्फत सहभागीहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने प्रयास गरेका थिए। बिहानैदेखि सुरु भएको प्रभातफेरीले चौतारा बजार क्षेत्रलाई केही समयसम्म सचेतनामूलक वातावरणमा रूपान्तरण गरेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, प्रमुख सेनानी सुन्दर थापा, प्रहरी उपरीक्षक काजी कुमार आचार्य, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिनारायण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। उनीहरूले लागूऔषधको समस्या केवल कानुनी मात्र नभई सामाजिक, पारिवारिक र मानसिक स्वास्थ्यसँग पनि जोडिएको विषय भएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।
प्रमुख जिल्ला अधिकारी घिमिरेले लागूऔषधको दुरुपयोगले विशेषगरी युवा पुस्तालाई गम्भीर असर पारिरहेको उल्लेख गर्दै विद्यालय, परिवार र समुदाय सबैले सचेत भएर काम गर्नुपर्नेमा जोड दिए। उनले लागूऔषधको प्रयोग, ओसारपसार र कारोबारविरुद्ध कडा निगरानी र निरन्तर जनचेतनामूलक अभियान आवश्यक रहेको बताए। त्यस्तै, प्रहरी उपरीक्षक काजी कुमार आचार्यले लागूऔषध नियन्त्रणमा प्रहरी एक्लैले मात्र सफलता हासिल गर्न नसक्ने भन्दै स्थानीय तह, अभिभावक, शिक्षक र नागरिक समाजको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे।

सप्ताव्यापी कार्यक्रमअन्तर्गत यसअघि पनि विद्यालयस्तरमा सचेतनामूलक अन्तरक्रिया, समुदायमा जनचेतना अभिवृद्धि कार्यक्रम, पर्चा वितरण तथा सरोकारवालासँग छलफलजस्ता गतिविधि सञ्चालन गरिएको थियो। अन्तिम दिनको प्रभातफेरीले ती सबै कार्यक्रमको सन्देशलाई अझ व्यापक रूपमा समुदायसम्म पु¥याएको सहभागीहरूको भनाइ थियो। सहभागीहरूले लागूऔषधविरुद्धको अभियानलाई एकदिने कार्यक्रमका रूपमा मात्र सीमित नगरी निरन्तर रूपमा अघि बढाउनुपर्ने सुझावसमेत दिएका छन्।
कार्यक्रममा सहभागी सरकारी तथा गैरसरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, समाजसेवी र सञ्चारकर्मीहरूले लागूऔषधमुक्त समाज निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीयवासीले समेत यस्ता प्रभातफेरी र सचेतनामूलक कार्यक्रमले युवामा सकारात्मक सन्देश प्रवाह गर्ने र समुदायलाई सजग बनाउने विश्वास व्यक्त गरेका छन्।

समग्रमा, आज सम्पन्न प्रभातफेरी कार्यक्रमले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सामूहिक एकता, सामाजिक जिम्मेवारी र सचेतनाको सन्देश दिएको छ। आयोजक निकायले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै लागूऔषधमुक्त, सुरक्षित र स्वस्थ समाज निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
१२ असार २०८३, शुक्रबार १५:१३