चौतारा साँगाचोकगढी नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

जनतापत्र,चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले सबै लक्षित उमेर समूहका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै खोप उपलब्ध गराउन सफल भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगरपालिका घोषणा गरेको छ। नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा यस उपलब्धिलाई औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

नगर प्रमुख तथा नगर खोप समन्वय समितिका संयोजक कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सीता थापा, वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा सञ्चारकर्मीलगायत सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले बालबालिकाको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चितता अभियानले नगरपालिकाको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि थपेको बताए। उनले खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा समुदायको सक्रिय सहकार्यको प्रशंसा गर्दै भविष्यमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

नगर उपप्रमुख सीता थापाले नियमित खोप बालबालिकालाई विभिन्न सरुवा रोगबाट जोगाउने सबैभन्दा भरपर्दो र प्रभावकारी उपाय भएको बताउँदै प्रत्येक अभिभावकले समयमै आफ्ना बालबालिकालाई खोप लगाउन सचेत हुनुपर्नेमा जोड दिइन्। उनले खोप सेवाको पहुँचलाई अझ प्रभावकारी र सर्वसुलभ बनाउन नगरपालिका निरन्तर लागिपर्ने बताइन्।

वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतमले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयका कारण यस्तो उपलब्धि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिने बताए।

कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले प्रस्तुत गरेको विवरणअनुसार नगरपालिकाभित्र खोप लगाउनुपर्ने सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेका छन्। उनले अबको मुख्य चुनौती पूर्ण खोपको अवस्थालाई दिगो बनाउँदै प्रत्येक नवजात तथा लक्षित उमेर समूहका बालबालिकालाई समयमै नियमित खोप सुनिश्चित गर्नु रहेको बताए।

नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणालाई अन्तिम उपलब्धिका रूपमा नभई गुणस्तरीय, नियमित र दिगो खोप सेवाको निरन्तरताका रूपमा लिएको जनाएको छ। स्वस्थ, सुरक्षित र रोगमुक्त बालबालिका निर्माणमार्फत समृद्ध नगर निर्माण गर्ने लक्ष्यसहित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता कार्यक्रममार्फत व्यक्त गरिएको थियो।

१२ असार २०८३, शुक्रबार १७:१९