जनतापत्र सिन्धुपाल्चोक ।
लिभिङ वाटर नेपाल र जुगल गाउँपालिकाको सहकार्यमा जुगल गाउँपालिका–१ स्थित कुने गाउँमा सञ्चालन गरिएको ‘एक घर–एक धारा’ खानेपानी योजना सम्पन्न भएको छ। योजना सम्पन्न भएसँगै ४३ घरधुरी परिवारले घरमै स्वच्छ खानेपानीको सुविधा पाएका छन्।

योजनाको समापनसँगै आयोजित कार्यक्रममा खानेपानी आयोजना उपभोक्ता समितिलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुका साथै स्थानीय बासिन्दालाई स्वच्छ र सुरक्षित पिउने पानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले पानी फिल्टरसमेत वितरण गरिएको थियो।
यस आयोजनाबाट लामो समयदेखि सहज खानेपानीको पहुँचबाट वञ्चित रहेका स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। घरघरमा धारा जडान भएपछि दैनिक उपभोगका लागि पानी ल्याउन लाग्ने समय र श्रमको बचत हुनुका साथै स्वच्छ खानेपानीको पहुँच विस्तार भएको स्थानीयवासीले बताएका छन्।

जुगल गाउँपालिका र लिभिङ वाटर नेपालले सामुदायिक सहकार्यमा सम्पन्न गरेको यस योजनाले ग्रामीण क्षेत्रमा आधारभूत खानेपानी सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको छ। साथै, योजना दीगो रूपमा सञ्चालन गर्न उपभोक्ता समिति र स्थानीय समुदायको सक्रिय सहभागितालाई समेत जोड दिइएको छ।

१२ असार २०८३, शुक्रबार १३:५९