थ्री एस ड्राइभिङ सेन्टरद्वारा गाउँगाउँमा ड्राइभिङ शिक्षा, समापन

जनतापत्र,चौतारा ।
गाउँगाउँमा पुगेर ड्राइभिङ शिक्षा प्रदान गर्दै आएको थ्री एस ड्राइभिङ सेन्टरको विशेष प्रशिक्षण कार्यक्रम आज चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा सम्पन्न भएको छ। स्थानीय युवालाई सीपयुक्त, आत्मनिर्भर र सुरक्षित सवारी सञ्चालनतर्फ अभिमुख गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमको समापन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

कार्यक्रममा बोल्दै उपमेयर थापाले ग्रामीण क्षेत्रमा समेत व्यावसायिक ड्राइभिङ तालिम पु¥याउनु समयसापेक्ष र आवश्यक पहल भएको बताइन्। उनले भनिन्, “आजको युगमा सीप नै रोजगारीको आधार हो। गाउँमै बसेर युवाहरूले ड्राइभिङ सिक्ने अवसर पाउनु ठूलो उपलब्धि हो। यसले रोजगारी, स्वरोजगार र सुरक्षित यातायात संस्कृतिको विकासमा सहयोग पु¥याउँछ।” उनले थ्री एस ड्राइभिङ सेन्टरले समुदायमै पुगेर सेवा दिएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमलाई नगरपालिकाले पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट व्यवहारिक ज्ञान, ट्राफिक नियम, सवारी साधनको आधारभूत मर्मत, सडक अनुशासन र सुरक्षित ड्राइभिङसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको बताएका छन्। उनीहरूका अनुसार गाउँमै आएर दिइएको तालिमले समय र खर्च दुवै बचत हुनुका साथै आत्मविश्वास पनि बढाएको छ।

कार्यक्रमका क्रममा थ्री एस ड्राइभिङ सेन्टरका प्रतिनिधिहरूले ग्रामीण भेगका युवालाई लक्षित गरी ड्राइभिङ शिक्षा विस्तार गर्ने योजना रहेको जानकारी दिए। उनीहरूले सवारी साधन चलाउन जान्नु मात्र नभई जिम्मेवार चालक बन्नु पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरणमा यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

समापन समारोहमा विशेष योगदान पु¥याएको भन्दै सरोज बोहरालाई विशेष धन्यवाद दिइएको थियो। कार्यक्रमको सफल व्यवस्थापन, समन्वय र स्थानीय सहभागिता जुटाउन बोहराले पु¥याएको भूमिकाको प्रशंसा गरिएको थियो। सहभागीहरूले पनि उनको सक्रियता र सहयोगले कार्यक्रम प्रभावकारी बनेको प्रतिक्रिया दिएका छन्।

वडा नं. १४ मा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशिक्षार्थी, अभिभावक तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले गाउँमै सीपमूलक तालिम सञ्चालन हुनु सकारात्मक कदम भएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।

थ्री एस ड्राइभिङ सेन्टरले गाउँगाउँमा पुगेर दिएको यो सेवा स्थानीय युवाका लागि अवसर मात्र नभई सुरक्षित र जिम्मेवार यातायात संस्कृतिको आधार बन्ने अपेक्षा गरिएको छ।

१२ असार २०८३, शुक्रबार १५:०५