सिन्धुपाल्चोकमा युवा गैरसरकारी संस्था महासंघको जिल्ला शाखा गठन

जनतापत्र,चौतारा ।
युवा गैरसरकारी संस्था महासंघ नेपाल(Youth NGO Federation Nepal)को सिन्धुपाल्चोक जिल्ला शाखा गठन गरिएको छ। शुक्रबार चौतारास्थित न्यु अर्निको रिसोर्ट प्रालिमा सम्पन्न जिल्ला भेलाले सन्देश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा अनुपमा डोटेल, सचिवमा दीपक खत्री तथा सहसचिवमा सरोज भुजेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा ललिता कुमाल र सविन श्रेष्ठ रहेका छन्। कार्यसमितिको कोषाध्यक्ष पद भने आवश्यक परामर्शपछि मनोनयन गरिने जनाइएको छ।

भेलाले शाखाको सल्लाहकार समितिसमेत गठन गरेको छ। सल्लाहकार समितिमा नरमान श्रेष्ठ, राकेश राना तथा रविन गौतम चयन भएका छन्। नवगठित जिल्ला शाखाले सिन्धुपाल्चोकमा क्रियाशील युवा तथा गैरसरकारी संस्थाबीच समन्वय, सहकार्य र संस्थागत क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ।

कार्यक्रममा सहभागीहरूले जिल्लामा रहेका युवा संस्थाहरूलाई एउटै साझा मञ्चमार्फत जोड्दै युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, सुशासन, स्वयंसेवा तथा दिगो विकासका क्षेत्रमा साझा पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। साथै, स्थानीय तह, सरकारी निकाय तथा विकास साझेदारसँग सहकार्य गर्दै युवामैत्री कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

भेलामा सिन्धुपाल्चोकका विभिन्न युवा क्लब, सामाजिक तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै जिल्लामा युवाको क्षमता विकास र सामाजिक रूपान्तरणका क्षेत्रमा महासंघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

१२ असार २०८३, शुक्रबार १६:५१