चौतारा, सिन्धुपाल्चोक ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा मातहतका प्रहरी कार्यालयहरूले २०८३ साल जेष्ठ महिनाभर जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न गतिविधिहरू सञ्चालन गरेका छन्।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार जिल्लाभर शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नियमित गस्ती, चेकजाँच तथा अपराध नियन्त्रणका कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिएको थियो। विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा कानुनी कारबाहीलाई तीव्रता दिइनुका साथै फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियान समेत सञ्चालन गरिएको जनाएको छ।

यस अवधिमा ट्राफिक नियम पालना गराउन सवारी साधनहरूको नियमित जाँच, चालक तथा यात्रुहरूलाई सचेतनामूलक कार्यक्रम सञ्चालन, सडक सुरक्षा सम्बन्धी जानकारी प्रवाह तथा दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहलहरू गरिएको प्रहरीको भनाइ छ।

त्यसैगरी, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय, स्थानीय तह, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थासँग समन्वय गरी लागुऔषध दुव्र्यसन, साइबर अपराध, बालविवाह, लैङ्गिक हिंसा, मानव बेचबिखन तथा घरेलु हिंसा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

प्रहरीले जिल्लाका विभिन्न स्थानमा विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी पूर्वतयारीका गतिविधि सञ्चालन गर्नुका साथै वर्षायामलाई लक्षित गरी सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूसँग समन्वयलाई समेत प्रभावकारी बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नागरिकको सुरक्षा, कानुनी शासनको प्रत्याभूति तथा अपराधमुक्त समाज निर्माणका लागि आगामी दिनमा समेत यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


३ असार २०८३, बुधबार १५:४४