चौतारा । सिन्धुपाल्चोकमा एक वर्षको अवधिमा नयाँ उद्योग स्थापना हुने क्रमसँगै सञ्चालनमा रहेका उद्योग बन्द हुने क्रम पनि देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ६७ वटा नयाँ उद्योग दर्ता हुँदा ५१ वटा उद्योग खारेज भएका छन्।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकका अनुसार दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै सेवामूलक क्षेत्रका छन्। सेवामूलक २९, कृषि तथा वनजन्य २३, पर्यटन ९ र उत्पादनमूलक ५ उद्योग दर्ता भएका हुन्।
यसै अवधिमा खारेज भएका उद्योगमध्ये सेवामूलक २१, कृषि तथा वनजन्य १७, पर्यटन ९ र उत्पादनमूलक ४ वटा छन्।
नयाँ उद्योगमा साढे ७ करोडभन्दा बढी लगानी
नयाँ दर्ता भएका ६७ उद्योगमा ७ करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको पुँजी लगानी भएको कार्यालयले जनाएको छ।
अर्कोतर्फ, बन्द भएका ५१ उद्योगबाट करिब ४ करोड ५० लाख रुपैयाँ पुँजी फिर्ता भएको छ। यसले जिल्लामा नयाँ व्यवसाय सुरु गर्ने गतिविधि रहे पनि केही पुराना उद्योगहरू आर्थिक तथा बजारसम्बन्धी समस्याका कारण टिक्न नसकेको अवस्था देखाएको छ।
उद्योग दर्ता, नवीकरण तथा विभिन्न प्रशासनिक सेवाबापत कार्यालयले उक्त आर्थिक वर्षमा ४ लाख ६३ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरी राज्यकोषमा दाखिला गरेको छ।
नयाँ खुल्ने र पुराना बन्द हुने अवस्था किन?
कार्यालय प्रमुख त्रिपुरारी बख्रेलका अनुसार नयाँ उद्योग दर्ता भइरहनुले जिल्लामा उद्यम गर्न चाहनेको रुचि अझै रहेको देखिन्छ। तर सञ्चालनमा रहेका कतिपय उद्योग नवीकरण नगर्ने वा बन्द गर्ने अवस्थामा पुग्नु भने चुनौतीका रूपमा देखिएको छ।
उनका अनुसार आर्थिक मन्दी, पर्याप्त बजार नहुनु र पुँजी व्यवस्थापनमा देखिएका समस्याले विशेषगरी ग्रामीण क्षेत्रमा सञ्चालित साना उद्योगलाई असर गरिरहेको छ।
अब उद्योग दर्तामा मात्र ध्यान नदिई सञ्चालनमा रहेका तथा समस्यामा परेका उद्योगलाई टिकाउन आवश्यक सहयोग, सीप विकास र बजार व्यवस्थापनमा समेत जोड दिनुपर्ने उनको भनाइ छ।
रोजगारी सिर्जनासँगै टिकाउपनको चुनौती
नयाँ उद्योग स्थापना हुँदा स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधिका अवसर थपिने गर्छन्। तर, त्यससँगै पुराना उद्योगहरू बन्द हुँदै जानुले जिल्लाको औद्योगिक वातावरणमा चुनौती थपेको छ।
स्थानीय उत्पादन, कृषि तथा वनजन्य वस्तुमा आधारित उद्योग र पर्यटनसँग सम्बन्धित व्यवसायलाई बजारसँग जोड्न सके जिल्लामा उद्यमशीलता थप विस्तार हुन सक्ने देखिन्छ।
अबको चुनौती नयाँ उद्योग थप्नु मात्र नभई दर्ता भएका उद्योगलाई दीर्घकालसम्म सञ्चालनमा राख्नु पनि रहेको छ।
बाह्रबिसेमा ग्यास लुकाउने व्यवसायीलाई २५ हजार जरिवाना
यसैबीच सिन्धुपाल्चोकमा बजार अनुगमनलाई पनि तीव्रता दिइएको छ। खाना पकाउने एलपी ग्यासको अभाव देखाएर सिलिण्डर लुकाउने गरेको गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गरिएको हो।
भदौ १९ गते बाह्रबिसे नगरपालिकाका वडा नम्बर ४ र ९ मा रहेका पाँच ग्यास विक्रेता फर्ममा अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा राम्चे इन्टरप्राइजेजमा उपभोक्तालाई अभाव देखाउँदै लुकाएर राखिएका चार थान भरिएका ग्यास सिलिण्डर फेला परेको थियो। त्यसपछि सिलिण्डर नियन्त्रणमा लिई फर्मका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन तारेख दिइएको थियो।
सञ्चालक कार्यालयमा उपस्थित भएपछि उपभोक्ता संरक्षणसम्बन्धी कानुनअनुसार २५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ। जरिवानाबापतको रकम सरकारी राजस्व खातामा दाखिला भइसकेको छ।
बजार अनुगमनका क्रममा भएको यो कारबाहीले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा उपभोक्तालाई समस्यामा पार्ने गतिविधिमाथि प्रशासनले निगरानी बढाएको संकेत गरेको छ। यस्ता अनुगमनलाई बाह्रबिसेमा मात्र सीमित नराखी खाडीचौर, मेलम्ची, चौतारालगायत जिल्लाका अन्य व्यापारिक केन्द्रमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता देखिन्छ।
२ आश्विन २०८३, शुक्रबार ११:४९