काठमाडौँ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार क्षेत्रमा सडक निर्माण तथा स्तरोन्नतिको काम गर्न सोमबार पृथ्वी राजमार्गमा तीन घण्टा सवारी आवागमन रोक्ने भएको छ।
आकाशे पुल निर्माण र सडक सुधारको कामलाई सहज बनाउन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्ड पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै निर्माण कार्य सञ्चालन हुने समयमा मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी साधनको आवतजावत बन्द रहने जानकारी दिएको हो।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवनको सूचनाका आधारमा सडक बन्द गर्न लागिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्देश मास्केले जानकारी दिएका छन्। उनका अनुसार निर्धारित समय सकिएपछि दिउँसो २ बजेदेखि सवारी आवागमन पुनः सञ्चालन हुनेछ।
निर्माण कार्यका क्रममा सम्भावित जोखिम कम गर्न र कामलाई सुरक्षित ढंगले सम्पन्न गर्न केही समयका लागि यातायात सेवा रोक्ने निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।
पृथ्वी राजमार्ग हुँदै काठमाडौँ, चितवन, पोखरालगायत विभिन्न स्थानमा यात्रा गर्ने यात्रु तथा सवारी चालक प्रभावित हुने भएकाले प्रशासनले आफ्नो यात्राको समय मिलाएर हिँड्न आग्रह गरेको छ। विशेषगरी सोमबार बिहान र दिउँसो उक्त मार्ग प्रयोग गर्ने यात्रुले सडक बन्द हुने समयलाई ध्यानमा राख्नुपर्नेछ।
१६ कार्तिक २०८३, आईतवार २०:११