न्यायालयबारे उठेका विवादको निष्पक्ष छानबिन गर्न सर्वोच्च अदालतको आग्रह

काठमाडौँ। न्यायालयको कामकारबाही र न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादबारे निष्पक्ष अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन सर्वोच्च अदालतले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। अदालतले छानबिनबाट प्राप्त निष्कर्ष पनि सकेसम्म चाँडो सार्वजनिक गर्न आग्रह गरेको छ।

सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पछिल्लो समय सार्वजनिक भएका विषयमा सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार डा. अशोककुमार क्षेत्रीका अनुसार बैठकले सार्वजनिक सञ्चारमाध्यममा आएका विषयलाई पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्ने धारणा राखेको छ।

अदालतद्वारा जारी विज्ञप्तिमा संविधान र कानुनको सीमाभित्र रहेर छानबिन गर्न तथा त्यसबाट प्राप्त तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। यद्यपि छानबिनको जिम्मेवारी कुन निकायलाई दिने र अनुसन्धानको प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे विज्ञप्तिमा स्पष्ट पारिएको छैन।

त्यसैगरी, अनुसन्धान पूरा हुनुअघि नै कुनै व्यक्तिलाई दोषी ठहर गर्ने गरी आरोप नलगाउन पनि सर्वोच्चले आग्रह गरेको छ। न्याय सम्पादनको प्रक्रियामा असर पुग्ने गरी समाचार सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।

पछिल्लो समय न्यायाधीश हरिप्रसाद फुयाल र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका इनम सापकोटाबीच भएको भनिएको भेटघाट तथा कुराकानी सार्वजनिक भएपछि न्यायालयको भूमिकाबारे विभिन्न प्रश्न उठेका छन्।

उक्त भेटघाट र कुराकानी भएको विषय न्यायाधीश फुयालले स्वीकार गरेका छन्। उनले न्यायाधीशहरूकै उजुरीका आधारमा पक्राउ परेको दाबीसमेत गरेका छन्।

यसै विवादका बीच सर्वोच्च अदालतको पूर्ण बैठक बसेर आफ्नो धारणा सार्वजनिक गरेको हो। अदालतले बाहिर आएका विषयको सत्यतथ्य छानबिनबाट स्थापित हुनुपर्ने र त्यसको निष्कर्ष नआउँदासम्म न्यायिक कामकारबाहीलाई प्रभावित हुन नदिनुपर्नेमा जोड दिएको छ।

१७ कार्तिक २०८३, सोमबार १४:५६