काठमाडौँ। तृतराज दासले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४७ रन जोडेको हो। जनकपुरका लागि तृतराजले सर्वाधिक ६१ रनको योगदान दिए।
उनले ५५ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे। जारी प्रतियोगितामा अर्धशतक बनाउने उनी छैटौँ खेलाडी बनेका छन्। यसअघि विराटनगरका लोकेश बम, चितवनका डेबिड मालन, कर्णाली याक्सका सोमपाल कामी, जनकपुरका मोइन अली र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरिसकेका छन्।
जनकपुरका लागि इंग्ल्यान्डका अलराउन्डर मोइन अलीले १६ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए। उनलाई पोखराका सहिब अल हसनले बोल्ड गरेका थिए। त्यस्तै, अभिषेक तिवारीले आक्रामक ब्याटिङ गर्दै १० बलमा २४ रन जोडे।
जनकपुरका अन्य ब्याटरले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। कप्तान हर्मित सिंह नौ रनमा आउट हुँदा साइफ हसनले एक र अनिलकुमार शाहले नौ रन मात्र बनाउन सके। विश्रामपछि टोलीमा मौका पाएका जिमी निसम पनि ११ रन बनाएर पेभेलियन फर्किए।
पोखराका बलरमध्ये सकिब अल हसन सबैभन्दा प्रभावशाली देखिए। उनले तीन ओभर बलिङ गर्दै चार रन खर्चिएर तीन विकेट लिए। चामिका करुणारत्नेले पनि दुई विकेट आफ्नो नाममा गरे।
जनकपुरले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गर्दै टोलीले पुनरागमन गरेको थियो।
यता, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले प्रतियोगिताको पहिलो खेलमै चार विकेटको जित निकालेको थियो। लगातार दुई खेल जितेको कर्णाली याक्स चार अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।
१६ कार्तिक २०८३, आईतवार २०:१३